संसारको सबैभन्दा अग्लो भवन धर्तीमा होइन, आकाशमा बन्नेः  धर्तीतर्फ झुण्डिने, घुमिरहने

५ बर्ष अगाडि


तपाईंले अहिलेसम्म विभिन्न प्रकारको सुविधासम्पन्न गगनचुम्बी भवन देख्नुभएको होला । तर आज हामी तपाईंलाई यस्तो भवनबारे जानकारी दिँदै छौं जसबारे थाहा पाउँदा तपाईं चकित पर्नुहुनेछ । यो बिल्डिङ पृथ्वीमा नभई पृथ्वीको चक्कर लगाइरहेको पुच्छ्रेतारासँग जोडिएको हुनेछ जुन पृथ्वीतर्फ झुण्डिरहेको हुनेछ ।

संसारको सबैभन्दा अग्लो बिल्डिङ ठानिएको यो ‘एनलेमा टावर’ धर्तीभन्दा ५० हजार किलोमिटर माथि रहेको पुच्छ्रेतारामा निकै बलिया केबलको सहारामा अडिनेछ । पुच्छ्रेताराको ‘अर्बिटल पाथ’अनुसार यो टावर न्यूयोर्क र हवानासहित थुप्रै शहरमाथिबाट यात्रा गर्नेछ ।

यो अचम्मको डिजाइन क्लाउड्स आर्किटेक्चर अफिसले तयार गरेको हो । यो त्यही कम्पनी हो जसले ‘हाउस अन मार्स’ र ‘क्लाउड सिटी’ को कन्सेप्ट पनि तयार गरेको थियो ।

कम्पनीले आकाशबाट धर्तीतर्फ बन्न लागेको यो टावरले गगनचुम्बी भवनहरुको पूरा अवधारणा नै परिवर्तन गरिदिने दाबी गरेको छ ।

कम्पनीको प्रोपोजल अनुसार यसलाई दुबईमा बनाउने सुझाव दिइएको छ किनभने अमेरिकाको तुलनामा यसलाई दुबईमा बनाइयो भने  निकै कम खर्चमा यो सम्पन्न हुनेछ ।

एनलेमा टावरलाई विभिन्न खण्डमा तयार गरिनेछ । धर्तीको सबैभन्दा नजिकको खण्डमा मनोरञ्जन, शपिङ र रेष्टुरेन्ट लागि स्पेस दिइनेछ  भने त्यसको माथिल्लो खण्ड अफिसका लागि बनाइनेछ । यसका साथै, बिचको भाग बगैंचा र घरका लागि छुट्याइएको छ । यो टावरमा पूजाको लागि पनि स्थान हुनेछ । सबैभन्दा माथिल्लो खण्डमा भने अन्त्येष्ठिको लागि खाली ठाउँ छुट्याइनेछ ।

 

यो टावरको बिजुली आपूर्ती अन्तरिक्षमा रहेको सोलार प्यानलमा गरिनेछ भने पानीका लागि वर्षा र बादलको सहारा लिइन्छ । यो गगनचुम्बी भवन यति अग्लो हुनेछ कि यसको तल्लो भागको तुलनामा माथिल्लो भागमा हुने एक दिनमा ४५ मिनेट लामो हुनेछ ।

 

टावरको माथिल्लो भागमा बस्नेहरुका लागि बाहिरका दृश्य अद्भूत भएपनि सुरक्षाका हिसाबले तयार गरिएको सूट नलगाई उनीहरु बाहिर निस्कन सक्ने छैनन् किनभने ३२ हजार मिटरमाथिको उचाइमा लगभग भ्याक्युमको परिस्थिती हुने र तापक्रम –४० डिग्री हुनेछ ।

 

कम्पनीले निकट भविष्यमा एक घुमिरहने पुच्छे्तारामाथि नियन्त्रण गरेर त्यसको दिशा परिवर्तन गर्न सम्भव रहेको दाबी गरेको छ । उनीहरुको यो विश्वास पछाडि यूरोपियन स्पेस एजेन्सीको ‘राजेटा मिशन’ को ठूलो हात छ । यो मिशनले एक घुमिरहने पुच्छ्रेतारामाथि ल्याण्ड गर्न सम्भव भएको बताएको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया