‘एटम’को काम – युद्धकालमा बम अहिले मूर्ति

४ बर्ष अगाडि

जाजरकोटकाे कुशे गाउँपालिका–२ टालेगाउँका हरिभक्त नेपाली सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कर्णाली प्रदेश सदस्य हुन् । 

माओवादी युद्धका बेला ‘एटम’ नामले परिचित ४२ वर्षीय नेपाली अहिले राजनीतिबाहेक अर्र्को व्यवसायमा निकै सक्रिय भएर लागेका छन् त्यो हो मूर्ति बनाउने काम ।     
     
विद्यालयमा पढाउँदापढाउँदै तत्कालीन माओवादीले शुरु गरेको सशस्त्र युद्धमा २०५८ जेठदेखि भूमिगत भएका नेपाली अहिले मूर्ति बनाउन लागेका हुन् । 

मूर्तिकला सम्बन्धी उनले कुनै औपचारिक सीप, प्रविधि र साधन प्रयोगको ज्ञान हासिल गरेका छैनन् । तर उनले बनाएका विभिन्न देवीदेवताका मूर्ति, चित्र र विभिन्न नेता कार्यकर्ताका शालिक कुनै दक्ष्य मूर्तिकार र कलाकारको भन्दा कम छैनन् । 

जनयुद्धका बेला पार्टीको कार्यक्रमका लागि ब्यानर, भित्तेलेखन र चित्र बनाउने काम गरेका नेपालीले असारमा श्रीमतीको उपचारका लागि काठमाडौं गएका बेला ललितपुरको खोकनामा मूर्तिकार चन्द्रश्याम डङ्गोलको मूर्तिकला केन्द्रमा मूर्ति बनिरहेको देखे ।  

सो कलाकेन्द्रमा मूर्ति बनाउने तरिका र बनेका मूर्तिको मूल्य रु १० लाख पर्ने थाहा पाएपछि नेपाली मूर्ति बनाउन हौसिएका हुन् ।      
     
भित्तेलेखन र साइनबोर्ड तथा व्यानर लेखनमा राम्रो क्षमता भएका नेपाली अहिले मूर्ति र सालिक बनाउने काममा खटिएका छन् । 

 “एउटा मूर्ति वा सालिक बनाउन १० दिन लाग्छ”, उनले भने । उनले मासिक रु एक लाखसम्म कमाइ गर्ने गरेको बताए । भदौदेखि अहिलेसम्म ५३ मूर्ति तथा सालिक बनाइसकेको र ती मूर्ति र सालिक बेचेर रु पाँच लाख आम्दानी गरिसकेको नेपालीले बताए । 

 चित्रकलामा समेत पोख्त नेपालीले देवीदेवताका चित्र बनाउँछन् । 

 “गाउँका युवालाई सीप सिकाएर आफ्नो व्यवसायलाई व्यापक बनाउने तयारी गर्दैछु”, उनले भने ।      
     
नेपालीले बनाएका कुनै पनि मूर्ति, सालिक र चित्र कुनै प्रख्यात मूर्तिकार र चित्रकारको भन्दा कम्ती नभएको छेडागाड नगरपालिकाका चन्द्रबहादुर थापा बताउँछन् । 

मूर्ति र सालिकको मूल्य उचाइका आधारमा तोक्ने गरेका छन् । पाँच फिट अग्लो मूर्तिको मूल्य रु २५ हजार, चार फिट अग्लो भए रु २० हजार र तीन फिट अग्लो भए रु १५ हजारमा बिक्री हुने गरेको छ ।

नीय सामग्री, सिमेन्ट, फलामको छडलगायतका वस्तु प्रयोग गरी नेपालीले मूर्ति र सालिक बनाउने गरेका छन् । 

 “मूर्ति बनाउन सुर्खेत नेपालगञ्जलगायत ठाउँबाट बोलाउने गरेका छन्, मलाई जाजरकोटमै बसेर व्यवसाय गर्न मन छ”, उनले भने । 

श्रीमतीको साथ र प्रेरणाले आफूले मूर्तिकला व्यवसायमा सफलता प्राप्त गरेको नेपालीको भनाइ छ ।     
 

४ बर्ष अगाडि

प्रतिक्रिया