जसले एकोहोरो प्रेम गरिरहे

६ बर्ष अगाडि

बलिउडमा केही सेलिब्रिटी यस्ता छन्, जसले एकोहोरो प्रेम गरे। उनीहरूको प्रेम विवाहमा परिणत हुन सकेन। र, उनीहरूले आजीवन बिहे नगर्ने निर्णय गरे।

करन जौहर र ट्वीङ्कल
बलिउडका निर्देशक करन जौहर अहिलेसम्म अविवाहित छन्। ४५ वर्षका करनको पहिलो प्रेम अभिनेत्री ट्वीङ्कल खन्ना थिइन्। उनीहरू एउटै स्कुलमा पढ्थे। स्कुल पढ्दाताका नै करन ट्वीङ्कललाई मन पराउँथे।कलेज पुग्दासम्म पनि उनले ट्वीङ्कललाई प्रेम गरिरहे। ट्वीङ्कलसँग बिहे गर्न चाहन्थे, उनी। तर, ट्वीङ्कलले उनको प्रेम प्रस्ताव अस्वीकार गरेकी थिइन्।
प्रेम सम्बन्ध अगाडि नबढे पनि उनीहरू सधैँ एकअर्काका असल मित्र भइरहे। ट्वीङ्कलले आफ्नो किताब ‘मिसेज फनी बोन्स' को विमोचन कार्यक्रममा करनले आफूलाई प्रेम गर्ने बताएकी थिइन्। ‘करन मलाई सधैँ भनिराख्थे कि उनी मलाई प्रेम गर्छन्, उनले भनेकी थिइन्। कार्यक्रममा करन पनि उपस्थित थिए। ट्वीङ्कलले अभिनेता अक्षय कुमारसँग बिहे गरिन्।

आशा पारेख र नासिर हुसैन 

कुनै जमानाकी प्रसिद्ध अभिनेत्री आशा पारेखले फिल्म निर्माता नासिर हुसैनसँग प्रेम गरिन्। सन् १९५९ मा फिल्म ‘दिल देके देखो' बाट फिल्म क्षेत्रमा छिरेकी आशाले ‘तीसरी मंजिल', ‘कारवां' सहित सात फिल्ममा नासिरसँग काम गरेकी थिइन। उनीहरूको प्रेमबारे सबैलाई थाहा थियो। आत्मकथा ‘द हिट गर्ल' मा आशाले आफ्नो प्रेमबारे बताएकी छिन्। ‘मैले आफ्नो जीवनमा एक मात्र पुरुषलाई प्रेम गरे उनी हुन्, नासिर साब,' उनले भनेकी छिन्।

आशा नासिरसँग बिहे गर्न चाहन्थिन् तर उनी विवाहित थिए। ‘अर्काको घर भत्काएर म आफ्नो घर बनाउन चाहन्न थिएँ,' किताबमा उनले लेखेकी छिन्, ‘त्यसैले नासिर साबसँग बिहे गरिनँ।' परिवारले अरूसँग उनको बिहे गराउने धेरै कोसिस गरे पनि आशाले बिहे गरिनन्। उनी अहिले ७५ वर्षकी भइन्।

संजीव कुमार र हेमा मालिनी 
अभिनेता संजीव कुमार ‘ड्रिम गर्ल’ हेमा मालिनीलाई खूब मन पराउँथे। उनीसँग बिहे गर्न चाहन्थे। तर, संजीवको प्रेम एकोहोरो थियो। हेमाले उनको प्रेम प्रस्ताव अस्वीकार गरेकी थिइन्। उनी अभिनेता धर्मेन्द्रलाई मन पराउँथिन्। र, पछि धर्मेन्द्रसँगै बिहे गरिन्। फिल्म ‘शोले’ मा संजीव कुमार, हेमा र धर्मेन्द्रले सँगै काम गरेका थिए। तर, संजीव र हेमा सँगै भएको एउटा पनि दृश्य छैन।

उनीहरू दुवै एकअर्कासँग काम गर्न चाहन्थेनन्। हेमाले प्रेम प्रस्ताव अस्वीकार गरेपछि संजीव धेरै दुःखी भए। रक्सी खान थाले र उनले जीवनभरि बिहे नगर्ने निर्णय गरे। अभिनेत्री सुलक्षणा पंडितले संजीवलाई मन पराएर उनीसामु बिहेको प्रस्ताव राखेकी थिइन्। तर, संजीवले हेमाबाहेक अरू महिलाबारे सोच्नै सकेनन्। सुलक्षणाको प्रस्ताव अस्वीकार गरे। ४७ वर्षको उमेरमा हार्ट अट्याकका कारण संजीवको निधन भयो।

सुरैया र देव आनन्द 

अभिनेत्री तथा गायिका सुरैया र अभिनेता देव आनन्दको प्रेम जगजाहेर थियो। ‘जीत', 'शायर', ‘अफसर'लगायत थुप्रै फिल्ममा उनीहरूले सँगै काम गरेका थिए। सुरैया असाध्यै राम्री थिइन्। उनलाई पहिलो पटक भेट्नेबित्तिकै देव उनको प्रेममा परेका थिए। चार वर्षसम्म उनीहरूको प्रेम प्रसंग चलेको थियो। सुरैयासँग बिहे गर्न देव आनन्द जे गर्न पनि तयार थिए।

 तर, सुरैयाको परिवारले उनीहरूको प्रेमलाई स्विकारेन।परिवारसँग हारेर सुरैया देव आनन्दको जीवनबाट टाढिइन्। सुरैया टाढिएपछि देव अगाडि बढे र उनले अभिनेत्री कल्पना कार्तिकसँग बिहे गरे। तर, सुरैयाले भने आजीवन अविवाहित रहने निर्णय गरिन्। -अन्नपूर्ण 

६ बर्ष अगाडि

प्रतिक्रिया