बिहेपछि झन् बढि रिसाइन् अनुष्का

४ बर्ष अगाडि

भारतीय अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीले विवाह गरेपछि यो जोडीको चर्चा झन् बाक्लियो । तर कतिपय सवालमा विराटसँग विवाह गरेपछि अनुष्काले तनाब पनि बेहोर्नु परिरहेको छ । उनलाई पति विराटलाई प्रभावित गरेर भारतीय क्रिकेट टिमको छनोट प्रक्रियालाई बिथोलेकोदेखि विराटले खेल्न नसकेका खेलको अपजससमेत उनैलाई दिन थालिएपछि अनुष्का यतिबेला आक्रोशित देखिएकी छन् । 

पूर्वभारतीय क्रिकेटर फारुख इन्जिनियरले अनुष्कालाई सन् २०१९ को विश्वकपका लागि भारतीय क्रिकेट टिमको छनोटमा प्रत्यक्ष हस्तक्षेप गरेको आरोपमा मुख खोलेकी छन् । आरोपितले पत्नी अनुष्काकै अनुसार पति तथा भारतीय क्रिकेट टिमका कप्तान विराटले टिम निर्माण गरेको आरोप लगाएका हुन् । आरोपपछि अनुष्काले लामो स्टाटस् लेख्दै यसमा कडा आपत्ति जनाएकी छन् ।

‘गलत खबर र आरोप कसैले लगाउँछ भने त्यसमा चुप बसिदिनु नै उत्तम उपाय हो र बोल्नेलाई बोल्नै दिनुपर्छ भन्ने मलाई लाग्थ्यो । यही अवधारणामा रहेरै मैले फिल्ममा ११ वर्ष लामो करिअर बिताएँ । चुप बस्दा नै आफ्नो आत्मसम्मान र सत्यतामा आफूलाई दरिलो पाएँ,’ अभिनेत्री शर्माले भनेकी छन्, ‘तर कुनै झूट यस्ता पनि हुँदा रहेछन्, जुन बारम्बार दोहोर्‍याएर कसैले भन्दा बाँकीलाई सत्य नै हो कि भन्ने पनि भ्रम हुँदो रहेछ । यतिबेला मेरा लागि पनि यस्तै भएको छ । तर म यसको अन्त्य गरेरै छोड्छु ।’ त्यसैले पनि उनले लामो स्टाटस् लेखेकी छन् ।

अनुष्काले आफ्नै कारण विराटको क्रिकेट खेलको प्रदर्शन खस्किएको आरोप लगाइँदा पनि आफू चुप बस्दै आएको स्मरण गर्दै भनेकी छन्, ‘यतिबेलासम्म कि मलाई त क्रिकेट टिमको छनोट प्रक्रियाको बन्द सत्रमा समेत सामेल भएर यसलाई प्रभावित गर्ने गरेको आरोप लाग्न थाल्यो । तैपनि म चुप नै बसें । विराट विदेश खेल्न जाँदा पनि मैले ऊसँग भेटेको समयभन्दा बढी त कुरेकै होला । किनकि मैले हरेक प्रोटोकलको पालना गर्दै आएको छु । तैपनि मान्छेहरू आरोप लगाउन छोड्दैनन् ।

म आफूलाई चुप बस्नुमा नै बुद्धिमानी ठानें, बसिरहें । तर यतिबेला त टिम सदस्य छनोटमा नै मेरो हस्तक्षेप हुने गरेको आरोप लागेपछि सहन सक्ने अवस्था रहेन ।’ अनुष्काले क्रुद्ध हुँदै यदि छनोटकर्ताकै क्षमताप्रति कुनै टिप्पणी गर्न मन भए सिधै उनैलाई गर्दा हुने तर आफूलाई यसको अपजस दिने वा त्यसमा मुछ्ने प्रयास नगर्न पनि आग्रह गर्दै भनेकी छन्, ‘कृपया, मलाई यस्तो घटिया कहानीमा सामेल नगरिदिनोस् ।’

त्यसो त अभिनेत्री शर्माले अहिले मात्रै आफूलाई तनाब भएर बोलेको नभई हरेक अनावश्यक टिप्प्णी र कतुर्कले आफूलाई अक्रोशित बनाउने तर त्यसमा सवाल–जवाफ गर्न आफूले आवश्यक नठानेकैले चुप बस्दै आएको जिकिर गरेकी छन् । ‘कोही चुप बस्नु भनेको ऊ कमजोर भएको कसैले नठानोस् । यदि तपाईंलाई कसैको आलोचना गरेर खबरलाई सनसनी बनाउनु छ वा मेरै पतिका बारेमा नकारात्मक टिप्पणी गर्नु रहर छ भने पनि कृपया तथ्यमा टेकेर मात्रै बोल्ने गर्नुहोला । तर यसमा मेरो नाम सामेल नगरिदिनुहोला । म पनि यहाँसम्म मेरै आफ्नो बलबुताले आएकी हुँ । म आफ्नो करिअरसँग कुनै पनि कुराको सम्झौता गर्न सक्दिनँ । म आफ्नै बलले एक स्वतन्त्र महिला हुँ । एक क्रिकेटरकी पत्नी पनि हुँ,’ शर्माले भनेकी छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया