बाक्सिला बजार प्रदेश सरकारको लगानीमा स्तरोन्नति

४ बर्ष अगाडि

जिल्लाको उत्तरी क्षेत्रका स्थानीयवासीको प्रमुख व्यापारिक केन्द्र बाक्सिला बजार स्तरोन्नति गरिएको छ । ४४ वर्षदेखि चित्राको छाप्रोमा सञ्चालन हुँदै आएको बाक्सिला बजारको होटल तथा पसललाई व्यवस्थित गर्न प्रदेश नं १ सरकारको रु एक करोड लगानीमा स्तरोन्नति गरिएको हो ।

विसं २०३२ देखि हालसम्म बाँसको चित्राले बनेको टहरामा सञ्चालन भइरहेको बाक्सिला बजार प्रदेशसभा सदस्य राजन राईको पहलमा प्राप्त बजेटबाट स्तरोन्नति गरिएको केपिलासगढी गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताए । प्रदेश सरकारबाट प्राप्त रु एक करोडमध्ये रु ८६ लाख नौँ हजार  मै स्तरोन्नतिको काम पूरा गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष शिवकुमार राईले बताए । 
 
हरेक हप्ताको बुधबार हटिया लाग्दै आएको बाक्सिला बजारमा १३६ बाँसको छाप्रो हटाएर १७ फलामे ट्रष्ट,  बधशाला, खानेपानीको धारा, महिला तथा पुरुषका लागि छुट्टाछुटै चार शौचालय, फोहर व्यवस्थापन केन्द्र, ढल, प्रतिक्षालयलगायत निर्माण गरिएको छ । बाँसका भाटा, चित्रा तथा काठले बनेका छाप्रो हटाइएपछि बाक्सिला बजारको मुहार फेरिनुका साथै हिउँदको समयमा हुनसक्ने आगलागीको जोखिमसमेत हटेको बजार व्यवस्थापन समितिले जनाएको छ ।

केपिलासगढी गाउँपालिका–४ मा पर्ने बाक्सिला बजारमा विशेषगरी अग्र्यानिक कृषि उपज खरीद तथा बिक्री हुने गरेको छ । बाक्सिला बजार उत्तरी क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीको प्रमुख व्यापारिक केन्द्र तथा किराती ऐतिहासिकस्थलसमेत भएकाले व्यवस्थित बनाउँदै आधुनिकीकरण गर्ने काम शुरु गरिएको हो ।
 
पुरानो संरचना मात्रै रहेको ऐतिहासिकस्थल बाक्सिला बजारमा उपभोक्ता तथा व्यापारीको चाप बढेपछि विशेषगरी खानेपानी तथा शौचालयको अभाव देखिएको थियो । करीब आठ रोपनी क्षेत्रफल जग्गा ओगटेको बाक्सिला बजार स्तरोन्नति गरिएसँगै धुपी, कपुर, सिरिस, काल्की र करवीर जातको २५० बिरुवासमेत रोपिएको छ ।
 
रेडक्रस खोटाङ सभापतिमा पाँचौपटक बस्नेत

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङको सभापतिमा पुनः कुमारसिं बस्नेत चयन भएका छन्। दिक्तेलस्थित रेडक्रसको सभाहलमा शनिबार सम्पन्न ११औँ जिल्ला अधिवेशनबाट बस्नेत पुनः पाँचौँ कार्यकालका लागि सभापतिमा सर्वसम्मत चयन भएका हुन्।

१७ सदस्यीय रेडक्रसको नयाँ कार्यसमितिको खुला उपसभापतिमा भीमबहादुर सैँजु, महिला उपसभापतिमा रमाकुमारी बस्नेत, मन्त्रीमा छत्रकुमार बजिमय, कोषाध्यक्षमा नवराज केसी, उपमन्त्रीमा लीलाबहादुर खत्री र उपकोषाध्यक्षमा पर्शुराम विश्वकर्मा सर्वसम्मत चयन भएका छन् । यस्तै, खुला सदस्यमा ज्ञानेन्द्र जोशी, भागवत घिमिरे, कृष्णप्रसाद आचार्य, गणेश राई, अशोक आचार्य, भद्रबहादुर बस्नेत र कृष्णप्रसाद अधिकारी चयन हुनुभएको नवनिर्वाचित मन्त्री बजिमयले जानकारी दिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया