डा. केसीको स्वास्थ्य जटिल

४ बर्ष अगाडि

डडेलधुरा – डडेलधुरामा ७ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । उनलाई शुक्रबारदेखि डडेलधुरा अस्पताल भर्ना गरिएको छ ।
उपचारमा संलग्न मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले दिन प्रतिदिन स्वास्थ्य समस्या बढ्दै गएको बताए । ‘डडेलधुरामा उपचारको धेरै सुविधा छैन, चाँजोपाँजो मिले धनगढी लैजानुपर्ने अवस्था आउन सक्छ,’ उनले भने । कँडेलका अनुसार डा. केसी डडेलधुरा छाडेर अन्यत्र नजाने अड्डी लिएर बसेका छन् ।

केसीको समर्थनमा डडेलधुराका दर्जनभन्दा बढी नागरिक संस्थाले आइतबार पनि प्रदर्शन गरेका छन् । डडेलधुरा उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघ, होटल व्यवसायी संघ, पत्रकार महासंघ, महिला उद्यमी संघ, नागरिक समाजलगायत संस्थाको संयुक्त आयोजनामा भएको प्रदर्शनमा सरकारको ध्यानाकर्षण गराउन दिउँसै राँके जुलुस निकालिएको थियो ।
‘जनताको अधिकारका लागि डा. केसीले सुरु गरेको सत्याग्रहलाई निर्णायक बनाउन हामीले पनि समर्थनमा प्रदर्शन थालेका हौं,’ उद्योग वाणिज्य संघ जिल्लाका अध्यक्ष लोकराज भट्टले भने ।कान्तिपुर दैनिकमा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया