राजनीतिक आडमा राष्ट्रिय वाणिज्य बैंक डुबाउने खेल, चण्डीराज ढकाललाई चार अर्ब छुट दिने तयारी

४ बर्ष अगाडि

काठमाडौं – राजनीतिक आडमा राष्ट्रिय वाणिज्य बैंक भित्र ठूलो आर्थिक घोटाला र बदमासी हुन लागेको छ । आथिृक चलखेल गरेर नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवम् व्यवसायी चण्डीराज ढकाललाई बैंबाट लिइएको कर्जा मिनाहा गर्न लागिएको स्रोतको दावी छ ।

राजनीतिक एवम् आर्थिक चलखेल गरी बैंकलाई करिब रु ४ अर्ब हानी गर्ने तयारी भित्र भित्रै भइरहेको जानकारहरुको भनाइ छ । ढकालको कम्पनी मोमेन्टोले लिएको ऋणमा रु ३ अर्ब ८५ करोड ८ लाख मिनाह गर्ने अन्तिम तयारीमा बैंक पुगेको छ । उक्त ऋण मिनाहको निर्णय अपारदर्शी रुपमा हुन लागेको स्रोतको भनाइ छ ।

केही दिन भित्रै निर्णय हुनसक्ने  र सो निर्णयबाट बैंकले ठूलो नोक्सानी व्योहोर्ने भएको छ । मोमेन्टोले  एपरल्सले  लिएको कर्जाको पुर्नसंरचना गर्न लागिएको बैंकका एक उच्च अधिकृतले जानकारी दिए । साँवा र साँवाको आधा व्याज लिएर २६ वर्ष पुरानो कर्जाको पुर्नसंरचना गर्न लागिएको बताइन्छ ।

बैंकले २०५० सालमा मोमेन्टो एपरल्सको नाममा रु ३१ करोड ५६ लाख  कर्जा दिएको थियो । साँवा र साँवाको आधा व्याज जोडेर रु ४७ करोड ३४ लाख  तिर्ने गरी कर्जाको पुर्नसंरचना गर्न लागिएको बताइन्छ । कर्जा पुर्नसंरचना गर्दा बैंकलाई रु ३ अर्ब ८५ करोड ८ लाख नोक्सान हुने देखिएको छ ।

ढकालको कम्पनीले २६ वर्षअघि लिएको ऋणको साँवा ब्याजसहित रु ४ अर्ब ३२ करोड ४२ लाख तिर्नु पर्ने देखिएको छ । कर्जाको साँवा, ब्याज, पेनाल्टी ब्याज र पुँजीकरण ब्याजसहित ढकालले राष्ट्रिय वाणिज्य बैंकलाई भुक्तानी गर्नुपर्ने रकम त्यति पुगेको हो । तर सो बारेमा बुझ्न पटक पटक ढकालसँग फोन गर्दा उनले फोन उठाएनन् ।

चण्डिराज ढकाल पनि झापाको भएको, अर्थमन्त्री युवराज खतिवडा पनि झापाको भएको, प्रधानमन्त्री पनि झापाको भएकोले शक्ति केन्द्रहरु मिलेर ढकाललाई ऋणमा भारी मिनाह गर्न लागिएको स्रोतले जानकारी दिएको छ ।  राष्ट्रिय बाणिज्य बैंक पनि पूर्ण सरकारी स्वामित्वको बैंक भएको र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली कै अगुवाईमा वाणिज्य बैंकको सीईओमा किरण श्रेष्ठ नियुक्त भएकोले यति ठूलो कर्जा मिनाहमा तालमेल मिलेको स्रोतको दावी छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया