अझै शुरु भएन हरिहरभवनको पुनःनिर्माण

४ बर्ष अगाडि

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त हरिहरभवन अझै पुनःनिर्माण शुरु हुन सकेको छैन । भवन पुनःनिर्माण शुरु नहुँदा यहाँ सञ्चालन भइरहेका चार कार्यालयमध्ये दुईवटा चौरमै रहेका प्रि–फ्याब भवनमा रहेका छन् भने दुई कार्यालय अन्यत्र सरिसकेका छन् ।     
     
विसं २०५७ जेठ १३ गते राष्ट्रिय मानवअधिकार आयोग यही भवनमा शुरु भएको थियो । निजामती किताब खाना पनि चौरकोे प्रि–फ्याब भवनमा सञ्चालनमा रहेको छ । राष्ट्रिय पुस्तकालय र राष्ट्रिय न्यायिक प्रतिष्ठान अन्यत्र सरेका छन् । सञ्चालनमा रहेका कार्यालय साँघुरो भवनमा चलाउँदा समस्या भइरहेको आयोगका सूचना अधिकारी टीकाराम पोखरेलले  जानकारी दिए

करीब ९० वर्षअघि बनेको भवन शङ्कर शम्शेरको नाममा थियो । चार तले भवनको माथिल्लो भागमा शिवको मूर्ति थियोे । शङ्कर शम्शेर विष्णु र शिवका भक्त भएकाले भवनको नाम हरिहरभवन राखिएको थियो ।  

भूकम्प जानुअघि नै शहरी विकास तथा भवन निर्माण विभागले आयोगलाई पत्र लेखी भवन जीर्ण भएकाले अन्यत्र सर्न भनेको सूचना अधिकारी पोखरेलले बताए। त्यसबेलादेखि भवन खोजे पनि पाउन नसकिएको आयोगले जनाएको छ ।

सरकारको प्राथमिकतामा मानवअधिकार नपरेकाले भवन दिने र पुनःनिर्माणको काममा ढिलाइ गरेको आयोगका अधिकारीको गुनासो छ । आयोग बस्नुअघि यो भवनमा सामान्य प्रशासन र आपूर्ति मन्त्रालय थियो । किताबखाना, पुस्तकालय र प्रतिष्ठान पनि सँगै थिए ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन)ले भने चार महिनाभित्रमा हरिहभवनको पुनःनिर्माण शुरु गर्ने जनाएको छ । भवन पुनःनिर्माणका लागि खाली गर्न आयोग र किताखानलाई पत्राचार गरिएको एकाइका आयोजना निर्देशक नवराज प्याकुरेलले बताए । भारतीय एक्जिम बैंकको ऋण सहयोगमा भवन पुनःनिर्माण हुन लागेको हो ।     
   
 

४ बर्ष अगाडि

प्रतिक्रिया