फोहर व्यवस्थापन नहुँदा समस्या

४ बर्ष अगाडि

जुम्ला सदरमुकाममा फोहर व्यवस्थापन नहुँदा समस्या भएको छ । फोहर व्यवस्थापन गर्ने स्थानको तय नहुँदा बजार क्षेत्रका विभिन्न भाग फोहरको थुप्रोले भरिएका छन् । 

फोहर व्यवस्थापन गर्ने स्थान नहुँदा दशैँदेखि बजारको फोहर उठाइएको छैन । चन्दननाथ नगरपालिका–५ तल्लो जुगाडखोला नजिकै रहेको अस्थायी ल्याण्डफिल्ड साइडमा फोहरले दुर्घन्धित तथा बाली बिग्रन थालेको र नगरपालिकाले अर्को विकल्प नगरेको भन्दै स्थानीयवासीले फोहर फाल्न नदिएका कारण ठूलो समस्या भएको हो ।

झण्डै एक महिनादेखि फोहर नउठेका कारण बजार दिनप्रतिदिन फोहर हुँदै गएको छ । बजारका चोकचोकमा फोहरको थुप्रो लागेको छ । बजारमा हिँडडुल गर्ने मान्छेलाई मुख छोप्नुपर्ने अवस्था सिर्जना भएकाले स्थानीयवासीले आक्रोश व्यक्त गर्दै आएका छन् । नगरपालिकाले फोहर व्यवस्थापनका लागि पहल गरे पनि स्थायीरूपमा संरचना तयार गर्न सकेको छैन । 

सुन्दर बजारमा फोहरको थुप्रोले पर्यटकलाई पनि समस्या बनाएको हो । यसैगरी फोहरले विभिन्न प्रकारका रोगलेसमेत समस्या निकाल्दै आएको छ । नगरपालिकाले भने स्थापनाकालदेखि दीर्घकालीन डम्पिङ साइडको व्यवस्था गर्ने भने पनि अहिलेसम्म टुङ्गो लागेको छैन । 

नगर प्रमुख कान्तिका सेजुवालले बजारमा थन्किएको फोहर एक हप्ताभित्र व्यवस्थापन गरिसक्ने बताए । प्रमुख सेजुवालका अनुसार दीर्घकालीनरूपमा फोहर व्यवस्थापनका लागि भदाली र वडा नं २ को दुनादुनैमा जग्गा हेर्ने काम भएकाले एक हप्ताभित्र फोहर व्यवस्थापन हुने उनको भनाइ छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया