बाबु बाजेकाे पालाका पुराना घरेलु सामग्री हेर्न अर्घाखाँची जाउँ

४ बर्ष अगाडि

बिष्णु कुमार आले 

लोप हुन लागेका पुराना घरेलु सामग्रीको संरक्षणका लागि अर्घाखाँचीको सन्धिखर्कमा संग्राहलय स्थापना गरिएको छ ।  सन्धिखर्क नगरपालिका – ४ वाङ्गलामा लोप हुन लागेका  पुराना भाँडाकुँडा तथा प्रयोग गर्ने सामग्रीहरूको संग्राहलय   स्थापना गरिएको हो । 

बैकुण्ठपुरी नाम दिइएको संग्राहलयमा पहिला बाबुबाजेहरूले प्रयोग गरेका तर अहिलेका पुस्ताले नदेखेका सामग्री  राखिएको छ । जेष्ठ नागरिक जिल्ला संघले बनाएको संग्रहालयमा कपडा राख्ने काठको मदुस, घ्यू राख्ने हर्पे, तेल राख्ने चौंठी, मोही पार्ने काठको ठेका, मदानी, दही जमाउने काठको आरी लगायतका सामग्री छन् । 

उखु पेल्ने काठको कोल, तेल पेल्ने काठको कोल, धान कुट्ने ढिकी, मकै पिस्ने झाँतो, खेतबारी जोत्ने हलो, असारमा हिलोमा लगाउने खोक, काठको दुध निकाल्ने डाँडु, काठका चप्पल लगायतका वस्तु संग्रहालयमा मुख्य आकर्षणको रूपमा रहेको अभियान्ता नीमबहादुर रिजालले बताए । 

पत्रकार महासंघका पूर्व अध्यक्ष समेत रहेका रिजालले बाबुबाजेले प्रयोग गरेका पुराना वस्तुको लोप हुन थालेको र भावी पुस्तालाई उक्त कुराको जानकारी समेत नहुने भएकाले संग्रहालय बनाएर पुराना वस्तु संकलन गरिएको बताए ।

पानी आउँदा ओढ्ने सिउ, धर्मशालामा राखिने घैंटो, भजनमा बजाउने खैंजडी, डाला, सुपा, तमाखु खान प्रयोग गरिने हुका, चिलिम, पुराना टेप रेकर्ड, भोटे ताल्चा, दाउ, बाँसको काँईयो लगायत थुप्रै वस्तु संग्रहालयमा राखिएको हुँदा अवलोकन गर्नेको दिनहुँ भिड लाग्ने गर्दछ ।

रुखमा बनाईएको घर र घरमै पालेको कछुवा तथा कमलको फूल पनि आकर्षणको केन्द्रको रूपमा रहेका छन् । बैकुण्ठपुरी संग्रहालयको गत बिहीबार प्रदेश नम्बर ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले उद्घाटन गरेका थिए ।

उद्धघाटन गर्दै पुरातात्विक सामग्रीको संरक्षण भएको बताए । उनले पुराना सामग्रीहरुको संरक्षणका लागि यो कार्य राम्रो भएको उनले बताए । पुराना घरेलु सामग्रीहरु लोप हुँदै गएका छन् । विगत ४र५ वर्षदेखि मिहिनेत गरेर जिल्लाका विभिन्न ठाउँबाट संकलन गरी रिजालले संग्रहालय बनाएका हुन् ।

रिजालले अघिल्लो पुस्ताले प्रयोग गरेका सामग्रीको संग्रहालय स्थापना गरि नमुना काम गरेका छन् । पुराना सामग्रीको संग्रहले नयाँ पुस्ताले हेर्न र अध्ययन गर्न सहज हुने रिजालले बताए ।

४ बर्ष अगाडि

प्रतिक्रिया