पर्यटकको आकर्षणको केन्द्र बन्दै ‘ड्रिमपार्क’

४ बर्ष अगाडि

दाङको घोराही उपमहानगरपालिका–१७ बेलभारस्थित ‘ड्रिम पार्क’ पर्यटकीय केन्द्र बन्दै गएको छ । 

श्रीधरकुमार घिमिरेले डेढ लाख लगानीमा सञ्चालनमा ल्याएको उक्त पार्कमा दैनिक ३०० सम्म पर्यटक आउने गरेका छन् । अहिले जिल्लाभित्रका पर्यटकको नयाँ गन्तव्य बनेको छ । मनोरञ्जन लिनका लागि धेरै व्यक्ति यहाँ आउने गरेको उनले बताए । 

पार्कमा यति एयरलाइन्सको ३४ सिटे एसएएवी–३४० ‘वि’ प्लेन राखिएको छ । यसका साथै पार्कमा डेमपोलिङ, घोडा, ढिकीच्याउ, चिप्लेटी र पिङ मनोरञ्जनका लागि राखिएको छ । “पुरानो प्लेन किनेर पार्कमा राखिएको छ । यसमा फोटो खिच्ने र हेर्नेको भीड लाग्छ । पुतलीको पङ्खा जोडेर तस्बिर लिने, भिडियो बनाउने, लभ गार्डेनमा पनि युवायुवतीको आकर्षण देखिन्छ”, उनले भने,  “यहाँ आउने पर्यटकले केही न केही शिक्षा लिएर फर्किने आशा छ ।”

आउँदै गरेको पर्यटन वर्षमा पार्कको औपचारिकरुपमा उद्घाटन गर्ने कार्यक्रम रहेकोसमेत उहाँले बताउनुभयो । जहाजसहितको ड्रिमपार्क निर्माणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड यति एयरको ३४ सिटे जहाज ल्याइएकोे हो । त्यो ड्रिमपार्कभित्र जानेले प्लेन चढेको अुनभव गर्न पाउन र नचढेकाले पनि त्यसको अनुभूति गर्न पाउन भन्ने उद्देश्यले पार्क निर्माण गरिएको घिमिरेले बताए ।  

आगामी दिनमा अझ व्यवस्थित बनाउने योजना घिमिरेको छ । हाल व्यक्तिगत दुई बिघा क्षेत्रफलमा निर्माण शुरु गरिएको यो ड्रिम पार्क भविष्यमा पाँचदेखि सात बिघा जग्गा क्षेत्रफलमा विस्तार गर्ने लक्ष्य राखिएको छ । त्यसै बसेर समय बिताउनुभन्दा केही गर्ने उद्देश्यका साथ हवाई जहाजसहितको ड्रिमपार्क निर्माण गरिएको बताए । 

साँच्चिकै उडानमा जाने यात्रुलाई प्लेनभित्र चढ्दै गर्दा एउटा एयर होस्टेज ढोकामा स्वागतार्थ राख्ने उहाँको योजना छ । ३४ सिट क्षमताको जहाज त्यहाँ राखिएपछि निर्माणाधीन पार्क हेर्न जानेको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ । हिजोआज विद्यार्थीको बिदाको समय भएका कारण दैनिक ३०० पर्यटक यहाँ आउने गरेका छन् ।

राप्ती गाउँपालिका–२ लालमटियका हरसिका रोका सामाजिक सञ्चालनमार्फत आफूले थाहा पाएपछि ड्रिम पार्कसम्म घुम्न आएको उहाँको भनाइ छ । आफू र छोरासहित उनी सोमबार घुम्न र मनोरञ्जन लिन आएको उनले बताए ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया