एकैदिनमा घट्याे शेयर बजार, साेमबारकाे उत्साह किन एकदिन पनि टिकेन ?

४ बर्ष अगाडि

सोमबार एकदिन आशा जगाएको शेयर बजार परिसूचक नेप्से मंगलबार ५.६१ अंकले घटेको छ । 

नेप्से सूचक मंगलबार ५.६१ अंकले घटेर ११३९.९६ विन्दुमा अडिएको हो । 

अल्पकालीन कारोबारी हावी हुँदा बजारले गति समाउन नसकेको विश्लेषण गरिएको छ ।

त्यसका साथै ठूला लगानीकर्ता विश्वस्त हुन नसक्नु, मन्त्रीमण्डल पुनर्गठनको चर्चा, अर्थमन्त्री फेरिने हल्ला लगायतका कारणबाट लगानीकर्ता अन्योलमा परेपछि  बजार केही प्रभावित भएको विश्लेषकहरुको भनाइ छ । 

यद्दपि, शेयर बजारमा कारोबार रकम भने मंगलबार पनि उत्साहप्रद देखिएको छ । 

मंगलबार १६१ कम्पनीको १० लाख ८२ हजार ८१५ कित्ता सेयर खरिदबिक्री  हुँदा ३७ करोड ९८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । 
खरिदबिक्री भएका ११ वटा समूहको सेयरमध्ये उत्पादनमूलक बाहेक बाँकी सबै समूहका सूचक तल झरेका छन् । वाणिज्य बैंक समूहको सूचक ५.३१ अंकले घटेको छ । 

मंगलबारको बजारमा हिमालयन डिस्टीलरीको सतप्रतिशत लाभांश घोषणाको प्रभाव  देखियो । हिमालयन डिस्टीलरीले सबैभन्दा बढी ६ करोड ९७ लाख बढीको कारोबार गरेको छ । 

एनएमबी बैंकले ६ करोड ४५ लाख बढीको कारोबार गरेको यो दिन चिलिमे हाइड्रोले २ करोड ५० लाख, नवील बैंकले १ करोड ६० लाख बढीको कारोबार गरेका छन् । 

कुमारी बैंकको १ करोड २५ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा प्रभू बैंकले १ करोड ७ लाख, एनसीसी बैंकले ९५ लाख बढीको कारोबार गरेका छन् । 

छिमेक लघुवित्तको ९४ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा निर्धन उत्थान लघुवित्त र प्राइम कमर्सियल बैंकले ९१ ९१ लाख बढीको कारोबार गरेका छन् । 

मंगलबार होटल समूहमा १३.०५ अंक, विकास बैंक समूहमा १३.१८ अंक, जलविद्युत समूहमा ६.९२ अंक, बित्त समूहमा ३.६८ अंक, निर्जीवन बिमा समूहमा ५५.८९ अंक, जीवन बिमा समूहमा ५.२५ अंक, माइक्रोफाइनान्समा १०.९९ अंक र म्युचुअल फण्ड समूहमा ०.०२ अंकको गिरावट आएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया