भ्रमण वर्षको सन्देश ७१ देशमा एकै पटक

४ बर्ष अगाडि

भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरेर ठूलो सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्र्याउन विश्वभर प्रचार अभियानमा सरकार जुटेको छ । भ्रमण वर्षको सङ्घारमा पर्यटकीय क्षेत्र सौराहामा ७१ देशका संरक्षणकर्मी जुटेका छन् ।

यसैलाई अवसरका रुपमा लिएर सरकारी र गैरसरकारी क्षेत्रबाट यहाँका पर्यटकीय महत्वका बारेमा उनीहरुमार्फत सन्देश पुर्याउने काम भइरहेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सहायक संरक्षण अधिकृत विष्णु थपलियाले भ्रमण वर्षको पूर्व तयारी भइरहेका बेला भएको यो जमघट निकै महत्वपूर्ण रहेको बताए ।

आज बिहानसम्म ७१ देशबाट ४९१ विदेशी अन्तर्राष्ट्रिय रेन्जर सम्मेलनमा सहभागी भएका उनले जानकारी दिए। सबैभन्दा बढी अष्ट्रेलियाबाट ११२ सहभागी छन् । सबै सहभागी प्राकृतिक सम्पदामा काम गर्ने संरक्षण कर्मी रहेका र नेपालको पर्यटन वन तथा वन्यजन्तुमा बढी केन्द्रित हुने भएकाले उनीहरुमार्फत राम्रो सन्देश जाने छ । उनीहरुको सामाजिक सञ्जालमार्फत एउटै देशका हजारौं जनतालाई यहाँको पर्यटकीय महत्वका बारेमा सन्देश प्रवाह हुने देखिन्छ ।

भ्रमण वर्ष तयारी समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले विश्वभरका संरक्षणकर्मीलाई यहाँको पर्यटकीय महत्वका बारेमा जानकारी दिँदै ती देशमा हाम्रो निम्ता पुग्ने बताए। नेपालको पहिलो निकुञ्ज चितवन भएको भन्दै उनले वास्तविक यहाँको रमाईलोपन ७१ देशका प्रतिनिधिले एकै साथ पाएका उनको भनाइ छ ।

यससँगै आउँदो वर्ष यहाँ आउने पर्यटकको सङ्ख्या बढाउन सकिने डल्लाकोटीले बताए। सुनसानसँगै एकाएक विदेशी पर्यटकले भरिएपछि सौराहाका पर्यटन व्यवसायीमा उत्साह बढेको छ । क्षेत्रीय होटल सङ्घ सौराहा च्याप्टरका अध्यक्ष दीपक भट्टराईले सहभागीलाई जति सक्दो धेरै पर्यटकीय महत्वका वस्तु देखाएर ती देशमा सन्देश पठाउन लागिएको बताए। सहभागीलाई जङ्गल सफारी, डुङ्गा सयर, सांस्कृतिक कार्यक्रमको प्रस्तुतिकरण गरिँदै छ भने सम्भव भए जतिलाई रातको समयमा मध्यवर्ती वनभित्र निर्माण गरिएका स्तम्भमा राखिँदै छ । उनीहरुमार्फत ती सन्देश आ–आफ्ना देशमा पुग्ने छ ।

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले संसारभर एकै पटक यहाँको पर्यटकीय महत्वका बारेमा सन्देश पुग्नलागेको बताए। आफूले कार्यक्रमको उद्घाटनमा सबैलाई स्वागत गर्दै आ–आफ्ना देशवासीलाई भ्रमण वर्षको सन्देश पुर्याउन आग्रह गरेको उनले जानकारी दिए। उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेश फर्किएर आफन्त र साथीभाइलाई भ्रमण वर्षको निम्तो पुर्याइदिन आग्रह समेत गरेका थिए ।

भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ विश्व सुवेदीले जिल्लाको पर्यापर्यटनका विषयमा सहभागीले आफ्ना देशमा सामाजिक सञ्जालमार्फत अरुलाई जानकारी दिने हुनाले बिना खर्च विश्वभर राम्रो प्रचार हुन लागेको बताए । यससँगै नेपालमा भ्रमण वर्षमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुने सुवेदीको अपेक्षा छ ।

वन र वन्यजन्तु क्षेत्रका विज्ञको सहभागिता भएको हुनाले उनीहरुमार्फत यहाँको महत्वका बारेमा राम्रो गरी सन्देश जाने देखिएको छ । यहाँ आएका संरक्षणकर्मीले दुर्लभ एक सिङ्गे गैँडा, बाघ, घडियाल गोही जस्ता वन्यजन्तु र चरा अवलोकन गर्ने अवसर पाएका छन् । जाडो छल्न विश्वका विभिन्न देशबाट यहाँ आएका चरा उनीहरुका लागि अध्ययन र अवलोकन गर्न निकै महत्वपूर्ण सावित हुने छन् ।

निकुञ्जसँगै सौराहामा रहेको थारु संस्कृति विश्वका जोसुकैका लागि नौलो र महत्वपूर्ण हुने गर्दछ । मङ्गलबारबाट शुरु भएको रेन्जर सम्मेलन पाँच दिनसम्म चल्नेछ । नेपाल सरकार र अन्तर्राष्ट्रिय रेञ्जर फेडरेशनले कार्यक्रमको आयोजना गरेको हो । एशियामा पहिलोपटक यो कार्यक्रमको आयोजना गरिएको हो ।     
  
 

४ बर्ष अगाडि

प्रतिक्रिया