पहिलेको भन्दा ४४ प्रतिशत सस्तो वायुसेवाको जहाज

४ बर्ष अगाडि

पहिलेको  भन्दा ४४ प्रतिशत सस्तोमा नेपाल वायुसेवा निगमले जहाज विक्रिका लागि सूचना निकालेको छ । 

बोलकबोलमा वोइङ ७५७–२०० एयरक्राफ्ट विमान बिक्री गर्नका लागि निगमले तेश्रो पटक सूचना निकालेको हो । 

सूचना अनुसार निगमले पहिलो पटक निकालेको सूचनामा उल्लेख भएको रकमभन्दा यसपटक ४४ प्रतिशत कम आधार मूल्य राखेको छ । 

विमान सन् २०२० को फेब्रुअरीसम्म मात्रै उड्न सक्ने लाइफ भएकाले छिटो बिक्री गर्नुपर्ने दबाबमा निगमले नेगोसिएसनमा बिक्री गर्ने भएको हो ।

सुरुको मूल्यांकनमा ७६ लाख ७६ हजार अमेरिकी डलर अर्थात रु ८७ करोड ५० लाख आधारमूल्य तोकेको निगमले यसपटक भने ४२ लाख ५० हजार डलर अर्थात ४८ करोड ७२ लाख तोकेको छ । 

यसअघि प्रस्तावित मूल्यभन्दा निकै तलको मूल्यमा प्रस्ताव आएपछि निगमले तेस्रो पटक ४४ प्रतिशत छुटसहित सूचना निकालेको जनाएको छ । 

कर्णाली कलसाईन रहेको उक्त विमान मर्मतका लागि  धेरै रकम खर्च गरेको निगमले विमान पुरानो भएपछि  सञ्चालन र इन्धन खर्च बढी भएएकोले विमान बेच्ने निर्णय गरेको थियो ।

सन् १९८० मा अमेरिकन वोइङ कम्पनीसँग ऋणमा विमान खरिद गरेको उक्त विमान सन् २०२० को फेब्रुअरीसम्म मात्रै उड्न सक्ने लाइफ रहेको जनाएको छ । 

१६ दिनको समयसीमा तोकेर जारी गरिएको सूचना अनुसार विमान किन्न इच्छुक कम्पनीले ५ हजार अमेरिकी डलर तथा सो बराबरको नेपाली रुपैयाँ बैंकमा जम्मा गर्नुपर्ने छ । 
८९ हजार घण्टा उडान गरिसकेको विमानमा २ वटा रोल्सरोयस इन्जिन छन् ।

१९० सिट क्षमता रहेको विमानमा १६ वटा विजनेस क्लासका सिट छन् ।

स्वीस कम्पनी फिन्टेक ग्लोवलले विमानको पार्टपुर्जा र त्यसका यन्त्र उपकरण समेतको मूल्यांकन गरी आधार मूल्य कायम गरेको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया