भरपर्दो सुरक्षा आवश्यक मन्त्री थापा

४ बर्ष अगाडि

गृहमन्त्री रामबहादुर थापाले समृद्ध नेपाल निर्माणका लागि भरपर्दो सुरक्षा आवश्यक रहेको बताएका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित ‘दोस्रो समूहको अप्रेशन कमान्ड तथा नेतृत्व विकास तालीम समापन’ कार्यक्रममा उनले देशलाई कमजोर बनाउने तत्वलाई जरैदेखि फालेमात्र देश विकास हुने बताएका छन ।

सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण, लागुऔषध, मानव बेचबिखन र साइबर अपराधजस्ता देशलाई कमजोर बनाउने तत्वलाई निस्तेज बनाउनु जरुरी छ, उनले भन्ने । राष्ट्रिय अनुसन्धान विभागलाई अझ सुदृढ र विश्वसनीय बनाई व्यावसायिक ‘इन्टिलिजेन्स’ संस्थामा रुपान्तरण गर्न तालीमले सहयोग पुग्ने उनको भनाइ थियो ।

गृहमन्त्री थापाले प्रशिक्षणले प्रशिक्षार्थीको ज्ञानको दायरालाई बढाउनाका साथै शारीरिक र मानसिक रुपमा सबल र स्वस्थ्य भई आत्मविश्वास बढाउने बताए । उनले गृह मन्त्रालयबाट लागू भएको गृह प्रशासन सुधार कार्ययोजना २०७४ अन्तर्गतको ८२ बुँदे कार्ययोजनालाई अझ प्रभावकारी कार्यान्वयन गर्न सबै सुरक्षा निकायको कार्यक्षमता अभिवृद्धि हुन जरुरी रहेको उल्लेख गरेका छन् ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राष्ट्रिय सुरक्षा चुनौतीको पहिचान गरी प्रभावकारी सूचना सङ्कलन र विश्लेषणद्वारा त्यस्ता चुनौतीलाई निस्तेज बनाउन महत्वपूर्ण जिम्मेवारी बहन गर्न अनुसन्धान अधिकृतको व्यावसायिक दक्षता र सीप राष्ट्रिय सुरक्षा तथा प्रभावकारी सेवा प्रवाहका लागि महत्वपूर्ण हुने बताए।

महानिरीक्षक खनालले राष्ट्रिय सुरक्षासम्बन्धी देखिएका चुनौतीको सामना गर्न अनुसन्धान अधिकृतहरुमा सुरक्षा चुनौतीको मूल्याङ्कन गर्ने, सुरक्षा रणनीतिक एवम् योजना निर्माण गर्ने र सम्बन्धित सुरक्षा निकायसँग प्रभावकारी समन्वय गर्न सक्ने क्षमता हुन अपरिहार्य रहेको बताए ।

राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारीले यस्ता प्रशिक्षणले सुरक्षा निकायबीचको ऐक्यबद्धता र सामूहिक भावनाको अभिवृद्धि हुने विश्वास व्यक्त गरे । ४५ दिने तालीममा २० अनुसन्धान निर्देशकको सहभागिता रहेको प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राईले जानकारी दिए ।     
   
 

४ बर्ष अगाडि

प्रतिक्रिया