प्रदेश २ मा पर्यटनका सम्भावना

४ बर्ष अगाडि

नेपाल सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामबाट शुभारम्भ गरिएको छ ।

२० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल सरकारले पर्यटन वर्ष घोषणा गरेको हो । नेपाल भूपरिवेष्ठित देश भएकोले यहाँ पर्यटकको आगमनलाई सहज हुने देखिन्छ । हाम्रा दुई छिमेकी मुलुक चीन र भारतका पर्यटकहरुलाई मात्र लोभ्याउन सके पर्यटक वर्षलाई सफल बनाउन सहज हुन्छ । 

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामबाट संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले यसको शुभारम्भ गरे । सरकारले आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्ने हिसाबले २०२० लाई नेपाल पर्यटन वर्ष (नेपाल टुरिजम इयर) घोषणा गरी थालेको अभियान विधिवत् सुरू भएको हो । नेपालमा सन् २०३० भित्र वार्षिक ५० लाख विदेशी पर्यटक भित्र्याउने महत्वाकांक्षी योजनाका साथ यो अभियान प्रारम्भ गरिएको हो ।

जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा आयोजित एक भव्य समारोहबीच प्रदेश सरकार र नेपाल सरकारका प्रतिनिधिको उपस्थितिबीच शुभारम्भ गरिएको हो । मन्त्री भट्टराई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेशका उद्योग वन तथा पर्यटनमन्त्री रामनरेश रायले संयुक्त रूपमा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गरे ।

नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ नेपालकै पवित्र भूमि जनकपुरधामबाट हुनु अत्यन्तै हर्षको विषय हो । यो अनुभूति मन्त्री भटराईले पनि प्रकट गरे । प्रदेश २ को कला, संस्कृति, सभ्यतालाई धार्मिक केन्द्रको हबको रूपमा विकास गर्न सकियो भने सम्पूर्ण नेपालको विकास गर्न सहज हुने अभिप्रायका साथ अभियानको सुरूवात जनकपुरबाट गरिएको हो ।

प्रदेश २ मा सयांै धार्मिक तथा पर्यटकीय स्थल रहेकाले यस्तो अभियानले यसलाई देशबाहिरका पर्यटकसँग जोड्न मद्दत पुग्नेछ । पर्यटनको प्रचुर सम्भावना बोकेको प्रदेशमा पर्यटन संस्कृतिको विकास गर्न नसकेकाले सोचे अनुरूप यसको फाइदा उठाउन नसकिएकै हो तर अब रामायण सर्किटको माध्यमबाट बर्सेनि हजारौं पर्यटक भित्रयाउनु आवश्यक छ ।

हिन्दू धर्मावलम्बीको प्रमुख धार्मिकस्थल रामायण, बुद्ध सर्किटजस्ता पुरातात्विक तथा ऐतिहासिक मौलिकता बोकेको स्थानलाई किटान गरी पर्यटन प्रवद्र्धनलाई बढाबा दिन सकिन्छ । पर्यटन करिडोर तोकेर र जनकपुरधाम, पशुपति, मुक्तिनाथ, मनकामनाजस्ता धार्मिक महत्वका स्थललाई जोडेर भारतलगायत विश्वका हिन्दूलाई यहाँ ल्याउन सकिए देशको आर्थिक विकासको मुहान फुटाउनु सकिन्छ ।

तर यसका साथै सफा, सुन्दर, स्वच्छ वातावरण आवश्यक हुनुपर्छ । पर्यटक जनकपुर आउँदा यहाँको फोहोर र दुर्गन्धले भाग्नु नपरोस् भन्ने अवस्थाको सृजना गरिनुपर्छ । यसका साथै जनकपुर मिथिला र मैथिली संस्कृति र सभ्यता प्राचीनकालदेखि नै अग्रणी स्थानमा रहेकाले मिथिलाको गौरव गाथा उजागर गर्ने दायित्व यहाँको सरकारको रहेको छ ।

यता भ्रमण वर्ष अभियानले विशेषगरी पाँच कुरा ‘कल्चरल’, ‘एडभेन्चर’, ‘स्प्रीचुवल’, ‘वाइल्डलाइफ’ र ‘माइस टुरिज्म’लाई प्राथमिकतामा राखेका छन् । धार्मिक, सांस्कृति र पर्यटकले परिचित रहेको प्रदेश २ पनि सरकारको प्राथमिकतामै पर्छन् । तर, भ्रमण वर्ष सुरू हुन् करिब दुई महिना मात्र बाँकी भए पनि प्रदेश २ मा यसको कुनै सुरसार देखिएको छैनन् ।

पर्यटकको मुख्य आकर्षण केन्द्र मध्ये एक रहेको जनकपुरसहित प्रदेश २ मा भने भ्रमण वर्ष तयारीको चहलपहल शून्य छ । अन्य पर्यटकीय ठाउँमा भ्रमण वर्षको प्रचारप्रसार सुरू भए पनि यहाँ न तयारी छ, न त सरोकारबला निकायलाई जानकारी नै । स्थानीय सरकारदेखि सरोकारवाला सबै बेखबर छन् । 

यस्ता अभियानलाई निरन्तरता दिनुपर्छ । सरकारले लक्ष्य लिनु राम्रो हो । तर आवश्यक पूर्वधार पनि बनाउँदै जान आवश्यक छ । हवाईजहाजबाहेक सडकमार्गबाट पनि धेरै पर्यटक प्रदेश २ मा भित्र्याउन सकिन्छ । तर भारतीय ल्याउन पनि प्रदेश २ सँग जोडिएका सडकको अवस्था नाजुक छ ।

पूर्वाधारको चुनौती एकातिर छँदै छ अर्काेतिर जनशक्तिको गुणस्तर र दक्ष जनशक्तिको अभाव पनि देखिन्छ । होटललगायत पर्यटनका अन्य क्षेत्रमा आवश्यक जनशक्तिको अभाव छ । पर्यटकलाई दिने सेवा तथा सुविधा र सेवाहरू पनि उपलब्ध नहुँदा त्यसले झन् नराम्रो असर पार्छ । प्रदेश सरकारले यसतर्फ पनि ध्यान दिनु जरूरी छ । अनि मात्र नेपाल भ्रमण वर्ष सफल हुन सक्छ । 

प्रदेश सरकारले प्रदेशका पर्यटकीय तथा धार्मिकस्थलहरुलाई प्राथमिकतामा राखेको अभिव्यक्तिहरुमा मात्र देखिन्छ । प्रदेशको सबभन्दा बढी पर्यटकको आकर्षणको केन्द्रको रुपमा ऐतिहासिक नगरी जनकपुरधामको अवस्था हेर्दा दिक्क लाग्छ ।

अहिले को अवस्थामा केही सुधार आएपनि पर्यटकलाई लोभ्याउनेतिर सरकारको ध्यान पुगेको देखिँदैन । जनकपुरधाम प्रदेश २ को अस्थायी राजधानी घोषणा भएदेखि विभिन्न किसिमका विकृत्तिहरु बढ्दै गएको छ । अहिले जनकपुरधाम नेपालकै सबभन्दा बढी महँगो ठाउँमा रुपमा देखा पर्न थालेको छ ।

त्यहाँका व्यापारीहरु अराजकझैं प्रस्तुत हुन थालेका छन् । प्रदेश सरकारले जनकपुरधाममा बढ्दै गएको महँगी, भौतिक संरचना लगायतका विषयमा विशेष ध्यान दिन जरुरी छ ।

यसैगरी प्रदेश २ अन्य धार्मिक तथा सांस्कृतिक धरोहरहरुको प्रचार प्रसारमा ध्यान दिएको छैन । रामायण सर्किट बनाउने घोषणा भइसकेको छ तर त्यहाँका धार्मिक तथा सांस्कृतिक स्थलहरुको प्रचारमा सरकार अहिलेसम्म चुकिरहेकै छ ।

विगतमा मधेशलाई सरकारले थिचोमिचोमा पा¥यो, विभेद ग¥यो, अधिकार दिएन लगायतका कुराहरु यथार्थ हो तर, अहिले त शासन सत्ता त्यहींका जनप्रतिनिधिको हातमा छ । सांस्कृतिक धरोहरहरुको प्रचार प्रसार भइरहेको देखिँदैन ।

नेपाल भ्रमण वर्षलाई सफल बनाउन प्रदेश २ को मुख्य भूमिका रहन्छ । यसतर्फ केन्द्र सरकारको पनि ध्यान गएको छ । सायद त्यहीं भएर होला नेपाल भ्रमण वर्ष–२०२० को शुभारम्भ सीता माताको जन्मभूमि जनकपुरधामबाट नै गरिएको हो ।

केन्द्र सरकारलाई प्रदेश सरकारले धन्यवाद दिनुपर्छ कि यस्तो कार्यको शुभारम्भका लागि जनकपुरधामलाई चुनियो । अब त्यसको विश्वव्यापी प्रचार प्रसार गर्ने जिम्मेवारी प्रदेश सरकारको हो । पहिला आफैले पहल गर्नुपर्छ । तसर्थ, भ्रमण वर्ष सफल बनाउन प्रदेश २ को ठूलो योगदान रहनेछ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया