पनौतीस्थित ‘मिनरल वाटर’ आयोजनाबाट उत्पादित पानीको बजारमा माग धेरै भए पनि त्यसअनुसार उत्पादन हुन सकेको छैन । जग्गाको अभावकै कारण आयोजनाले क्षमताभन्दा ज्यादै कम परिणाममा पानी बजारमा आपूर्ति हुने गरेको छ ।
सरकारीस्तरबाट पानी बिक्री–वितरण गर्ने पहिलो आयोजना भए पनि यसलाई विस्तार गर्न नसकिएको नेपाल खानेपानी संस्थानले जनाएको छ । नगरपालिकाले सो आयोजनाका लागि झण्डै सात रोपनी क्षेत्रफलको जग्गा दिएकामा अहिले कार्यालय सात आनामा सीमित छ । आयोजनाको जग्गामा अतिक्रमण गरेर सुकुम्बासीले घरलगायत संरचना बनाउँदा आयोजना खुम्चिएको हो ।
संस्थानका महानिर्देशक डा .भूपेन्द्र प्रसादले सो स्थानमा खुम्चेको जग्गा फैलाएर क्षमतानुसार उत्पादन गर्ने योजना रहेको बताए । यससँगै अन्य स्थानमा रहेका पानीका स्रोतको अध्ययन गर्दै जाने संस्थानको योजना छ । सगरमाथाबाट आएको पानी मिनरल वाटर र जारमार्फत बिक्री–वितरणका लागि अध्ययन गर्ने योजना संस्थानको छ ।
महानिर्देशक प्रसादको नेतृत्वको टोली केही दिनमै त्यसतर्फ जानेछ । संस्थानले देशभित्र मात्रै नभएर विदेशमा समेत पानी बिक्री–वितरण गर्ने योजना बनाइरहेको उनले बताए । उनले भन्ने, विज्ञ सम्मेलित टोली गएर स्थलगत निरीक्षण गरेपछि नै थप अध्ययन अघि बढ्नेछ ।
नेपाल खानेपानी संस्थानका अध्यक्ष जीउलाल चौधरीले कर्मचारीले जाँगरका साथ काम गर्दा मात्रै संस्थानका कुनै पनि योजना सफल हुन सक्ने बताए । ‘मिनिरल वाटर’ आयोजना विस्तार गर्दै जाने संस्थानको योजना छ । उनले भन्ने, संस्थान रहेमात्रै हामी रहन्छौँ भन्ने कर्मचारीले सोच्नुपर्छ ।
पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले आयोजनाको क्षमता विस्तारका लागि पहिलो काम नक्सानुसार जग्गा कायम गर्नु नै भएको बताए । सो स्थानमा बसोबास गर्दै आएका सुकुम्बासीलाई अन्यत्र व्यवस्थापन गरी संस्थानको जग्गा फर्काउनुपर्ने उनले बताए । त्यस स्थानमा बसोबास गर्नेमध्ये को वास्तविक सुकुम्बासी हुन् र को होइनन् भनी छुट्याउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।
संस्थानले कुनै पनि आयोजना सञ्चालन भएका स्थानमा स्थानीय तहसँग पनि सहकार्य गर्न सकेको छैन । नगरपालिकामै रहेको एकीकृत काभ्रे भ्याली खानेपानी आयोजना सम्पन्न हुन लाग्दासमेत समन्वय नभएको उनले बताए। उनले भन्ने, आयोजनाको ९७ प्रतिशत काम सम्पन्न भएको भनिए पनि समन्वय भइरहेको छैन ।
खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले संस्थानले खानेपानीको नयाँनयाँ स्रोतको खोजी गर्दै जानुपर्ने बताए । शहरी क्षेत्रमा ‘मिनरल वाटर’ र जारको पानी आवश्यक रहेको छ । संस्थानले पानीको उत्पादन गर्दै बजारमा मागको अध्ययन गर्नुपर्नेमा उहाँको जोड रहेको छ । अहिले धेरै स्थानमा पानीको माग भइरहे पनि दिन आपूर्ति गर्न नसकिएको संस्थानले जनाएको छ । एक लिटर पानीको बोतल बजारमा माग उच्च रहेकाले उत्पादनका लागि स्वचालित उपकरण जडान गर्ने लक्ष्य लिइएको छ ।
जग्गा खुम्चिएकै कारण आयोजनाको क्षमता बढाउन कठिन भएको पनौतीस्थित कार्यालय प्रमुख पुष्पाञ्जलि विष्टले बताए । अहिले जारको पानी मात्रै उत्पादन हुने गरेकामा ‘मिनरल वाटर’समेत बजारमा पुर्याउन सकिने उनले सम्भावना रहेको बताउँदै उनले भन्ने, अहिले सानो प्लान्टका रुपमा रहेकामा यसलाई विस्तार गर्न सक्दामात्रै हामी नाफामा जानेछौँ ।
विसं २०६७–६८ मा अध्ययन भएर विसं २०७४–७५ मा सञ्चालनमा आएको सो आयोजनाको क्षमता दैनिक एक हजार २०० जार रहेको छ । हाल सो आयोजनाबाट दैनिक २६५ जार उत्पादन भइरहेको छ । पानी परीक्षण प्रयोगशालामा दैनिक परीक्षणपछि मात्रै पानी वितरण हुने गरेको छ । सो स्थानमा पानी वितरणको क्षमता प्रतिघण्टा दुई हजार लिटर रहेको छ ।
बजारमा जार तथा बोतलको पानीको मागलाई सम्बोधन गर्नेसँगै आफ्नो आर्थिक स्थिति सुधारका संस्थानले प्रशोधित पानी बिक्री–वितरणको नमूनाका रुपमा पनौतीमा शुरु गरेको थियो । अहिले खानेपानी मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पानी वितरण हुँदै आएको छ भने आगामी दिनमा अन्य मन्त्रालय र स्थानमा समेत फैलाउने लक्ष्य लिइएको छ ।
प्रतिक्रिया