६० करोडमा काठमाडौं जिल्लाका सडक मर्मत हुँदै, ९० ठेक्का

४ बर्ष अगाडि

सरकारले ६० करोडको लागतमा काठमाडौं जिल्लाका सडक मर्मत प्रकृया शुरु गरेको छ । 

काठमाडौंको एक हजार ६ सय किलोमिटर मध्ये ३ सय २५ किलोमिटर सडकको मर्मत रु ६० करोडको लागतमा गर्न लागेको हो । 

सडक डिभिजन कार्यालय मिनभवनले आफ्नो कार्यक्षेत्रभित्रका सडक मर्मतका लागि ९० भन्दा बढी ठेक्का प्रकृयाबाट काम शुरु गरेको जनाएको सुचना अधिकृत सुर्दशन कार्कीले बताए । 

उनका अनुसार मर्मत हुने सडकमा भत्केको ठाउँमा मर्मत गर्ने, कालोपत्रे उप्केको ‘ओभरले’ गर्ने, पानी जमेको ठाउँमा कल्भर्ट  राख्ने लगायतका काम हुनेछन् ।    

अहिले सम्म प्रकृयामा गएका ९० ठेक्का मध्ये कतिपय कामको सम्झौता भइ काम शुरु भएको र कतिपयको ठेक्काको प्रकृयामा रहेका छन् ।  

भर्खरै मात्र आवधिक मर्मतका लागि थापाथली, त्रिपुरेश्वर, लौनचौर र न्युरोड गेट ईन्द्रचोक सडक तथा सुन्धारा, सिँहदरवार र प्रदर्शनीमार्ग क्षेत्रको सडक निमार्णका लागी कमलजित निमार्ण सेवाले स्विकृती पाएको छ भने नारायणहिटी, घन्टाघर, भद्रकाली तथा टंगाल, कालोपूल, केशरमहल र त्रिदेवीमार्गको सडक मर्मतको जिम्मा गौरी गणेश निमार्ण सेवाले प्राप्त गर्ने भएको छ । 

त्यस्तै माईतीघर, तिनकुने सडक मर्मतको ठेक्का सामानान्तर निमार्ण र कमलजित निर्माणले संयुक्त रुपमा पाएका छन । सडक मर्मतका लागी ९० भन्दा बढी ठेक्का प्रकृयामा गईसकेको पनि सुचना अधिकृत कार्कीले बताए । 

काठमाडौंमा सडक मर्मतका लागि वर्षेनी करोडौंको ठेक्का हुने भएपनि काम भने नहुने गरेको सरोकारवालाहरुको आरोप छ । 

सम्बन्धित निकायले ठेक्का प्रकृयामा लिने कमिसन, ठेकेदारको लापर्वाही, प्रभावकारी अनुगमन÷निरीक्षणको अभाव लगायतका कारण समयमै सडक मर्मत नहुने गरेको स्थानीयको आरोप छ ।  

तर आफूहरुले समयमै ठेक्का प्रकृया शुरु गरेपनि ठेकेदारको काम समयमा नगरीदिएको कारण सडकहरु मर्मत हुन नसकेको सडक डिभिजन मिनभवनका सूचना अधिकारी कार्की बताउँछन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया