साढे चार लाख मेट्रिक टन धान उत्पादन

४ बर्ष अगाडि

यस वर्ष कैलाली र कञ्चनपुरमा गरी साढे चार लाख मेट्रिक टन धान उत्पादन भएको छ । यहाँस्थित कृषि ज्ञान केन्द्र भीमदत्तनगरले कैलालीमा तीन लाख ३३ हजार ७०० र कञ्चनपुरमा एक लाख ३० हजार ७२० मेट्रिक टन धान उत्पादन भएको जनाएको छ ।

कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख रामचन्द्र भट्टले विगत वर्षको तुलनामा यस वर्ष पनि धान उत्पादन भएको बताए । समयमा वर्षा नहुनुका साथै किसानले लगाएको गरिमा जातको धान नफल्दा धान उत्पादन घट्ने अनुमान गरेका थियौँ, उनले भन्ने,तर गत वर्षकै तुलनामा उत्पादन भयो । सुदूरपश्चिम प्रदेशकै अन्न भण्डार मानिने कैलालीमा ७१ हजार हेक्टर र कञ्चनपुरमा ३८ हजार हेक्टरमा धान उत्पादन हुँदै आएको भट्टको भनाइ छ ।

दुवै जिल्लामा गरी करीब ४० प्रतिशत भूमिमा मात्रै सिँचाइ सुविधा छ, भट्टले भन्ने,अझै धेरै किसानले आकाशे पानीकै भरमा खेती गर्नुपर्ने बाध्यता छ । त्यसैगरी कैलाली र कञ्चनपुरमा करीब ७०० हेक्टर क्षेत्रफलमा लगाइएको गरिमा जातको धान नफल्दा किसान मर्कामा परेका छन् । हामीले तथ्याङ्क सङ्कलन गरेर माथि पठाइसकेका छौँ, ज्ञान केन्द्रका प्रमुख भट्टले भन्ने, बीउबिजन समितिले सिफारिससहित प्रतिवेदन सरकारलाई बुझाउने भनेको छ ।

उनले यहाँका पीडित किसानलाई राहत दिने विषयमा सरकारले निर्णय गर्ने बताए । कञ्चनपुरमा सिँचाइ सुविधा विस्तार गर्ने उद्देश्यले महाकाली सिँचाइ आयोजना तेस्रो चरण र कैलालीमा रानीजमरा, कुलरिया सिँचाइ आयोजनाको निर्माण भइरहेको छ । कैलाली सुदूरपश्चिमको मात्रै नभई मुलुककै प्रमुख अन्न उत्पादन हुने जिल्लामा पर्छ ।     
 

४ बर्ष अगाडि

प्रतिक्रिया