बाेटदेखि गिलाससम्म कफीकाे हिसाब : २० कराेडकाे काराेबार, १६ लाख नाफा

४ बर्ष अगाडि

कफीकाे  काराेबारबाट गतवर्ष नेपालमा जम्मा रू १६ लाख मात्र नाफा भएकाे तथ्यांकमा देखिएको छ ।   

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सार्वजनिक गरेको तथ्यांकले आयात र निर्यातको तुलना गर्दा रू १६ लाख नाफा हुने गरेको देखिएको हो । 

आयात र निर्यात गरेर राज्यले  वर्षेनी २० कराेड बराबरकाे कफीकाे काराेबार गरेकाे छ । 

जसअनुसार नेपालबाट गतवर्ष रु ९ करोड ९६ लाख बराबरको ८४ मेट्रीकटन कफी निर्यात र रु ९ करोड ८० लाख रूपैयाँको कफि आयात भएको छ ।  उक्त विवरण अनुसार जम्मा रु १६ लाख रुपैयाँ देशले कफिबाट नाफा कमाएको छ । 

बोर्डले मात्र गतवर्ष कफिको लागि १ करोड १५ लाख खर्च गरेको थियो । यसबाहेक कृषि मन्त्रालय, कृषि अनुसन्धान केन्द्र, अन्य परियोजनाहरु, स्थानीय तह लगायतको बजेट हिसाव गर्ने हो भने करौडौँ छ ।

कफि विकासका लागि राष्ट्रिय चिया तथा कफि विकास बोर्ड, कृषि मन्त्रालय, विभिन्न संघसंस्थाहरु, सहकारी तथा स्थानीय तहले आ–आफ्नै ढंगले लगानी गरिहरेका छन् ।

तर उत्पादन र निर्यात नढ्नुका पछाडी लगानी वास्तविक किसान समक्ष नपुगेको सरोकारवालाहरु बताउँछन् । 

निर्यात बढेन, आयात ८ गुणा बढ्यो   
गतवर्ष नेपालभर ५३० मेट्रीकटन ग्रीन वीन उत्पादन भएकोमा ८४ मेट्रीकटन कफी निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ ।

निर्यातको उक्त परिणाम अघिल्लो आर्थिकवर्ष बराबर नै हो ।  तर कफी आयातको आँकडा भने लगभग ८ गुनाले बढेको देखिन्छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७५/०७६ मा १ हजार ९९ मेट्रिकटन धेरै कफी आयात भएको छ ।  

आर्थिकवर्ष  २०७४/०७५ मा १६३ मेट्रीकटन कफी आयात भएकोमा  आव २०७५/०७६ मा एक हजार २६२ मेट्रीकटन कफी आयात भएको बोर्डले जनाएको छ ।   

बोर्डका अनुसार नेपालमा करिब ११ लाख ९८ हजार ५२५ हेक्टर क्षेत्रफलमा कफी खेती गर्न सकिने र त्यस मध्य ६१ हजार २२८ हेक्टर क्षेत्रफल कफी खेतीका लागि अति उत्तम रहेको देखिएको छ ।
नेपालमा कफी खेती शुरुवात गुल्मीबाट भएको मानिन्छ ।

विसं. १९९५ मा हिरा गिरीले बर्माबाट ल्याएको कफीको वीउ गुल्मीको आँपचौरमा रोपेपछि नेपालमा कफी खेती सुरूवात भएको थियो ।   

अघिल्लो महिना चिनियाँ राष्ट्रपति सि चिनफिङ आउँदा उनको  रात्रीभोजको मेन्युमा गुल्मी कफी पनि समावेश भएको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया