एडीबीले सरकारलाई भन्यो – पैसा दिन्छौं तर समयमै खर्च गर

४ बर्ष अगाडि

एशियाली विकास बैंक (एडीबी)ले नेपालका विभिन्न आयोजनामा गरेको लगानीको वित्तिय प्रगति अपेक्षा अनुसार हुन नसकेको जनाएको छ ।  

बैंकले बुधबार काठमाडौंमा आयोजना गरेको त्रिपक्षीय पोर्टफोलियो समीक्षामा एडीबीका नेपाल निर्देशक मुख्तोर खामुद्खानोभले समयमै खर्च हुन नसक्दा वित्तिय प्रगति अपेक्षा अनुसार हुन नसकेको बताए ।  

उनले नेपाल सरकारले रणनीतिक विकासका लागि लगानी आवश्यक ठानेमा एडीबी सहयोग गर्न तयार रहेको तर समयमै खर्च गर्न सरकारलाई आग्रह गर । 

सरकारले कतिपय परियोजनामा पर्याप्त सहयोग नगर्दा वार्षिक ३५ करोड अमेरिकी डलर देखि ४० करोड अमेरिकी डलरसम्म लगानी गर्ने लक्ष्य पूरा हुन नसकेको उनले बताए । 

परियोजनाहरुमा लगानी बढाउन नेपाल सरकारले रणनीतिक रुपमा ध्यान दिनुपर्ने निर्देशक खामुद्खानोभले बताए । 

एडीबीले हालसम्म वार्षिक ३० करोड अमेरिकी डलरभन्दा बढी लगानी गर्न सकेको छैन । एशियाली विकास बैकले सन् २०१९ को दश महिनामा २२ करोड ७३ लाख डलर बराबरको लगानी सम्झौता गरेको थियो ।

समीक्षा बैठकमा राजश्व सचिव शिशिर ढुंगानाले एडिबिले लगानी गरेका परियोजनाको गति र दक्षता विकासमा चुनौतिहरु रहेको र यस्तो समीक्षा बैठकले महत्वपूर्ण मुद्दाहरुलाई उजागर गर्ने बताए । 

सचिव ढुंगानाले परियोजना कार्यान्वयन गर्ने निकायहरु जुनसुकै परियोजना समयमै सम्पन्न गर्नका लागि संवेदनशिल हुनुपर्नेमा जोड दिए । 

एडीबीले हाल सम्म नेपालमा २ अर्ब ९६ करोड अमेरिकी डलर बराबरको लगानी गरेको छ ।

एडिबिको नेपालमा सञ्चालित ३१ परियोजनामा लगानी र २ परियोजनामा ऋण सहयोग रहेको छ । एडिबिले नेपालमा उर्जा, यातायात, शिक्षा, खानेपानी, शहरी विकास, कृषि लगायत क्षेत्रमा लगानी गर्दै आएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया