२० करोड लागतमा नगरपालिकाको भवन निर्माण सम्झौता

४ बर्ष अगाडि

कैलालीको गोदावरी नगरपालिकाको नयाँ भवन निर्माणका लागि ठेक्का सम्झौता भएको छ । क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत गोदावरी नगरपालिकाको–२ तेघरीमा खरीद गरिएको जग्गामा नयाँ भवन निर्माणका लागि ठेक्का सम्झौता भएको हो ।

क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन एकाइले २० करोडको लागतमा शर्मा कन्ट्रक्सनसँग २० महिनाभित्र सक्ने गरी ठेक्का सम्झौता भएको भवन निर्माण डिभिजन कार्यालयका इञ्जिनीयर बृजलाल चौधरीले बताए । नगरपालिकाको भवन निर्माणका लागि तेघरीमा झण्डै १५ कठ्ठा जमीन यसअघि नै खरीद गरिएको थियो ।

नयाँ भवन सुविधा सम्पन्नसहित साढे तीन तलाको बन्ने चौधरीको भनाइ छ ।नगरपालिका स्थापनाकालदेखि नै भाडाको घरमा सञ्चालन हुँदै आएकाले कार्यसम्पादनमा समस्या हुने गरेको छ । बाह्र वटा वडा रहेको सो नगरपालिकाका १० वटा वडा कार्यालय भाडाको घरबाट सञ्चालित छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिकामा एशियाली विकास बैंकको ऋण सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना लागू भएको छ भने कञ्चनपुरको शुक्लाफाँटा र भीमदत्तनगर नगरपालिकमा सो आयोजना लागू भएको छ । गोदावरी नगरपालिमा सो आयोजनामार्फत फोहर व्यवस्थापन, ढल निकास, भवन निर्माण र १६ किलोमिटर पक्की सडक बन्नेछ ।

गोदावरी नगरपालिकामा फोहर व्यवस्थापनका लागि जग्गा प्राप्तिसँगै भवन निर्माणको ठेक्का समझौता भइसकेकाले आयोजना कार्यान्वयनमा तीव्रता आउने प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले बताए । आयोजना लागू भएका अन्य नगरपालिकामा फोहर व्यवस्थापनका लागि जग्गाको टुङ्गो लागि नसकेकाले कार्यान्वयनमा ढिलाइ भइरहेको जनाइएको छ ।     
  
 

४ बर्ष अगाडि

प्रतिक्रिया