ट्रम्फ कम्पनीले ल्याउदैं २५ सय सिसीको मोटरसाइकल, यस्तो छ विशेषता

४ बर्ष अगाडि

बेलायती मोटरसाइकल उत्पादक ब्रान्ड ट्रम्फले भारतीय बजारमा नयाँ मोटरसाइकल सार्वजनिक गर्ने भएको छ। कम्पनीले भारतीय बजारमा आगामी डिसेम्बर ५ मा २५ सय सिसी इन्जिन क्षमताको शक्तिशाली मोटरसाइकल शोकेस गर्ने भएको छ। 

नयाँ ट्रम्फ रकेट ३ मोटरसाइकल अत्याधुनिक प्लेटफर्ममा आधारित रहेको छ। ट्रम्फको रकेट ३ आर र रकेट ३ जिटी दुई मोडल अन्तर्राष्ट्रिय बजारमा उपलब्ध छ। 
रकेट ३ को सबैभन्दा सवल पक्ष भनेको यो मोटरसाइकलमा लगाइएको २५ सय सिसीको लिक्विड–कुल्ड इन्जिन हो। ट्रम्फले हालसम्म उत्पादन गरेको यो सबैभन्दा शक्तिशाली इन्जिनयुक्त मोटरसाइकल हो। यो इन्जिनले ६ हजार आरपिएममा १६७ एचपी पावर र ४ हजार आरपिएममा २२१ एनएम टर्क दिन्छ। 

ट्रम्फको नयाँ मोटरसाइकल आकर्षक क्रुज, ट्विन हेडल्याम्प, दुवैतिर मोटो टायर रहेको छ। त्यस्तै यो मोटरसाइकलमा टिएसटी इन्सट्रुमेन्ट प्यानल छ जहाँ मोटरसाइकलबारे सम्पूर्ण जानकारी देख्न सकिन्छ।

मोटरसाइकलमा स्पोर्ट, रेन, रोड र राइडर गरी ४ ड्राइभिङ मोड उपलब्ध छ। त्यस्तै एबिएस, ट्र्याक्सन कन्ट्रोल सिस्टम, क्रुज कन्ट्रोल, हिल–होल्ड कन्ट्रोल, कि लेस इग्निसन, टायर प्रेसर मनिटरिङ सिस्टम लगायत विशेषता मोटरसाइकलमा छ।  

नयाँ रकेट ३ मा आल्मुनियम फ्रेम दिइएको छ। मोटरसाइकलमा अगाडि अपसाइड डाउन फोर्क र पछाडि मोनोसक सस्पेन्सन उपलब्ध छ भने अगाडि ३२० एमएम ट्विन डिस्क र पछाडि ३ सय एमएम डिस्क ब्रेक रहेको छ। यो मोटरसाइकल भारतमा शोकेस गरेको केही समयपछि बिक्री सुरु हुने कम्पनीले जनाएको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया