मकवानपुरगढी दरबार घुम्नेको सङ्ख्या ह्वात्तै बढ्यो

४ बर्ष अगाडि

केही वर्षअघिसम्म एक दुई जना मात्र आन्तरिक पर्यटक आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक एक हजारभन्दा बढी पर्यटक आउन थालेका छन् । गत वर्ष मकवानपुरगढी विजयोत्सवमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी आएपछि  तथा देशकै उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा समावेश भएपछि यस क्षेत्रमा पर्यटकको अकर्षण बढेको जनाइएको छ ।

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको नियमित भ्रमण, पक्की र फराकिलो सडक आदि पनि यहाँ पर्यटकलाई आकर्षित गराउने कारण भएको छ । देशकै सबैभन्दा ठूलो गढीको रूपमा रहेको मकवानपुरगढी तथा सेन राजाहरुले २०९ वर्ष शासन सञ्चालन गर्दा मकवानपुर राज्यको दरबारको रूपमा रहेको मकवानपुरगढी दरबार क्षेत्र अहिले आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यको रूपमा चिनिन थालेको छ ।

चिसो मौसम शुरु भएसँगै ऐतिहासिक मकवानपुरगढी दरबार घुम्ने र अध्ययन गर्नेहरुको सङ्ख्या ह्वात्तै बढेको हो । सुन्दर ऐतिहासिक धरोहर,वंशगोपाल मन्दिर,कालिका मन्दिर,सिद्धेश्वर महादेव मन्दिर र आकर्षक गुम्बा एवं स्तूपलगायतका धार्मिकस्थलहरु, रमणीय वातावरण, यातायातको सहज व्यवस्था,वनभोज खान पर्याप्त स्थान तथा शान्त वातावरणलगायतका कारण आन्तरिक तथा बाह्य पर्यटकसमेतको रोजाइमा मकवानपुरगढी पर्न थालेको हो ।

एघारौँ शताब्दीमा नेपालको पहिलो सेनवंशी राजा तुलासेनले निर्माण गरेको तथा विसं १६१० देखि पाल्पाली राजा मुकुन्द सेनका कान्छा छोरा लोहाङ सेनले स्थापना गरेर २०९ वर्षसम्म विशाल मकवानपुर राज्यको राजधानी रहेको मकवानपुरगढी दरबार क्षेत्रमा अहिले आन्तरिक पर्यटकको घुइँचो नै लाग्न थालेको छ । गढीमा मकवानपुर,ललितपुर, काठमाडौँ,सिन्धुली,चितवन तथा प्रदेश नं २ का विभिन्न जिल्लाका आगन्तुक तथा केही विदेशी पर्यटकसमेत आउन थालेका छन् ।

विगतमा इतिहासमा रुचि भएका केही व्यक्तिको सामान्य खालको आवतजावत मात्र रहने मकवानपुरगढी दरबार क्षेत्रमा आजभोलि आन्तरिक पर्यटकको भीड थामी नसक्नु भएको बताउँछन् मकवानपुरगढी–२ का सदस्य तथा स्थानीय खाजाघर सञ्चालिका सावित्री विश्वकर्मा । उनका अनुसार अचेल गढी दरबार हेर्न र वनभोज गर्न आउनेको सङ्ख्या दैनिक एक हजारभन्दा माथि छ ।

पक्की र स्तरीय सडकमार्ग तथा प्रचार–प्रसारका कारण मकवानपुरगढी भ्रमण गर्नेको सङ्ख्या बढेको हुनसक्ने मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईँ बताउँछन् । उनका अनुसार हेटौँडा बजारबाट १७ किलोमिटर उत्तरपूर्वतर्फ कान्तिराजपथ हुँदै लागेपछि गढी क्षेत्र पुगिन्छ ।

काठमाडौँबाट सिधा आउन चाहनेहरुले भने ७० किलोमिटरको रमाइलो यात्रा तय गर्नुपर्ने उनको भनाइ छ । चापागाउँबाट ललितपुरको माल्टा हुँदै मकवानपुरको ठिङ्गन कटेपछि मकवानपुरगढी गाउँपालिका प्रवेश गर्न सकिन्छ । विगतमा ठूलो गढीमा मात्रै पर्यटक पुग्ने गरेको भए पनि अचेल मनोरम सानोगढी तथा भारतको रक्सौलसम्म देख्न सकिने उचाइमा रहेको र गुराँस फुल्ने मौसममा गुराँसले ढपक्कै हुने ढुङ्गेगढीसमेत पर्यटकले भरिन थालेका छन् ।

प्रसिद्ध गढीमाई मन्दिरको मूल मन्दिरसमेत रहेकाले ढुङ्गेगढी क्षेत्रमा धार्मिक पर्यटकको समेत भीड लाग्न थालेको स्थानीय सुवास पाख्रिन बताए । विगतमा भग्नावशेषमा परिणत भएको मन्दिर अहिले पुनःनिर्माणपछि आकर्षक भएको छ । प्रदेश सरकारको करीब  ४० लाख लगानी र गाउँपालिकाको थप लगानीमा मन्दिरको पुनःनिर्माण गरिएको गाउँपालिका अध्यक्ष हुमागाईँले जानकारी दिए ।

मकवानपुरगढी दरबार प्रदेशको महत्वपूर्ण निधि भएकाले यसको संरक्षण र प्रवद्र्धनमा प्रदेश सरकारको साथ सहयोग रहने बताए, प्रदेश नं ३ का मुख्यमन्त्री पौडेल । उनका अनुसार प्रदेशका सबै गढीहरुको संरक्षण र प्रचारप्रसार गर्नु जरुरी छ ।     
     
   

४ बर्ष अगाडि

प्रतिक्रिया