पुरुषतर्फको खोखो खेलमा नेपालद्धारा बङ्गलादेशलाई पराजित

४ बर्ष अगाडि

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत आज भएको खोखोको पुरुषतर्फको खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेको छ । कीर्तिपुरमा भएको खेलमा नेपालले बङ्गलादेशलाई २१–१९ अङ्कले पराजित गर्दै प्रतियोगितामा सुखद् शुरुआत गरेको हो । जितसँगै नेपालले तीन अङ्क जोडेको छ । खोखोमा नेपालले पहिलोपटक बङ्गलादेशलाई पराजित गरेको हो ।

पहिलो इनिङको पहिलो टर्नमा चेन्जिङ गरेको नेपालले १२ अङ्क जोड्दा दोस्रो टर्नमा बङ्गलादेशले पनि १२ नै अङ्क जोड्यो । दोस्रो इनिङको पहिलो टर्नमा नौ अङ्क जोड्दा नेपाल २१–१२ को स्थितिमा पुग्यो । तेस्रो टर्नमा बङ्गलादेशले सात अङ्क जोड्दा नेपाल २१–१९ ले विजयी भयो । नेपालको जितमा धनप्रसाद चौधरी,कुशल मेछे र गणेश विश्वकर्माले समान चार–चार अङ्क जोडे ।

नेपालले भोलि दोस्रो खेलमा भारतको सामना गर्नेछ । आज नै भएको अर्को खेलमा भारतले श्रीलङ्कालाई २१–८ अङ्कले पराजित गर्यो । त्यस्तै महिलातर्फको आजै भएको खेलमा नेपाली महिला टोलीले बङ्गलादेशलाई ११–९ अङ्कले पराजित गर्दै प्रतियोगितामा सुखद् शुरुआत गरेको छ । जितसँगै नेपाली महिला टोलीले तीन अङ्क जोडेको छ ।

पहिलो इनिङमा रनिङ रोजेको नेपालले पहिलो टर्नमा ११ अङ्क जोड्यो । दोस्रो टर्नमा चेन्जिङ गरेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै बङ्गलादेशलाई जम्मा पाँच अङ्क जोड्न दियो । पहिलो इनिङको समाप्तिमा नेपाल ११–५ को बलियो स्थितिमा रह्यो । दोस्रो इनिङको पहिलो टर्नमा बङ्गलादेशले चार अङ्क मात्रै जोडेपछि नेपाल एक टर्न अगाडि नै जित निकाल्न सफल भयो । नेपाली महिला टोलीले भोलि भारतको सामना गर्नेछ ।     
  
 

४ बर्ष अगाडि

प्रतिक्रिया