पहाडी नेपाली कागज बिक्री नहुँदा उद्योग नै सङ्कटमा

४ बर्ष अगाडि

एक दशक अघिबाट उत्पादन गरेको नेपाली हातेकागजले बजार नपाउँदा नौगाड गाउँपालिका–४ सिप्टीमा स्थापना भएको जीवन ज्योति नेपाली कागज उद्योग सङ्कटमा परेको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै स्थापना गरिएको उद्योगले बजार नपाउँदा सङ्कटमा परेको सञ्चालक राइमले ठगुन्नाले बताउनुभयो । उनका अनुसार सडक पहुँचभन्दा टाढा रहेको उद्योगको प्रवद्र्धन नहुँदा सङ्कटमा परेको हो ।

आर्थिक वर्ष ०६२–०६३ मा स्थापना भएको उद्योगले स्थानीय उत्पादनको प्रयोग गर्दै नेपाली कागज उत्पादन गर्दै आएको छ । उत्पादित वस्तु मङ्हगो भएको भन्दै बिक्री भएको छैन । विगतमा लोक्ताबाट नेपाली कागज उत्पादन गर्दै आएकोमा उद्योगले यो वर्षदेखि मकैबाट कागज उत्पादन गरेको छ । झण्डै १० हजार प्रति उत्पादन गरिएको भए पनि बिक्री भने भएको छैन ।

विगतमा गरिबी निवारण कोष,लघु उद्यम,घरेलु तथा साना उद्योग विकास समिति,अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयलगायतको सहयोगमा स्थापना गरिएको उद्योगको सामग्री बिक्री वितरणको व्यवस्थापन नहुँदा धरासायी अवस्थामा पुगेको ठगुन्ना बताउँछन । अहिले उद्योगमा समूहका छ जनाले रोजगारी पाएका छन् । तर उत्पादन गरिएको सामग्री बिक्री नहुँदा समस्या भएको उहाँको गुनासो छ ।

उद्योगले मकै,गहुँ,जौ,लोक्ता र धानको पराललगायतका कच्चा पदार्थबाट कागज उत्पादन गर्ने गरेको छ । नेपाली कागजलाई चाहिने कच्चा पदार्थ स्थानीयस्तरमा प्रशस्त मात्रा छ,तर बजारीकरण छैन,स्थानीयवासी अमरसिंह ठगुन्नाले भन्ने ।

यस क्षेत्रमा उत्पादन गरिएको सामग्री बिक्रीका लागि प्रवद्र्धन हुन नसक्दा रोजगारी गुम्ने अवस्थामा पुगेको ठगुन्ना बताउनुहुन्छ । स्थानीय उत्पादनलाई सरकारी कार्यालयले प्रयोग गरे हाम्रो पनि रोजगारी रहन्थ्यो, उनको भनाइ छ ।

यो वर्ष नौगाड गाउँपालिकाले उत्पादित कागज खरिद गर्ने तयारी गरे पनि प्रिन्टरले काम नगर्दा खरिद गरेन । गाउँपालिकाले हालसम्म उद्योग प्रवद्र्धनमा भने सहयोग नगरेको सञ्चालक ठगुन्नाको गुनासो छ । गतवर्ष सदरमुकाम खलङ्गास्थित महाकाली नगरपालिकाले ५०० प्रति नेपाली कागज खरिद गरेको थियो । अहिले गाउँमा उत्पादन गरेको नेपाली कागज प्रति रु १० मा बिक्री गर्ने गरेको उनीहरु बताउँछन् ।     
     
उल काडिङ मेसिन प्रयोगविहीन

घरेलु तथा साना उद्योग विकास कार्यालय दार्चुलाले दुई दशकअघि खरिद गरेको उल काडिङ मेसिन प्रयोगविहीन बनेको छ । विसं २०५३ मा भारतको रुदिआनाबाट झण्डै रु ५० लाख लागतमा खरिद गरिएको मेसिन प्रयोगविहीन बनेको हो ।

मेसिन सञ्चालनका लागि पहल नहुँदा वर्षौँदेखि मेसिन कार्यालयको गोदामै थन्किएको कार्यालय प्रमुख गङ्गा मगरले बताउनुभयो । नेपालसँगै भारत र चीनसमेतको कच्चा पदार्थ ल्याएर दैनिक ७० किलोग्रामसम्म उन प्रशोधन गर्ने मेसिन अहिले मर्मत सम्भारमा ध्यान नदिँदा थन्किएको छ ।

काडिङ मेसिन सञ्चालनको लागि सरकारले बजेट विनियोजन गरेको छैन । जिल्लामा उत्पादन हुने कच्चा सामग्री सङ्कलन गरेर मेसिन प्रयोगमा ल्याउन सके स्थानीयको रोजगारीसमेत सिर्जना गर्न सकिने मगरको भनाइ छ । जिल्लामा उन र अल्लोलगायतका कच्चा पदार्थ भए पनि उद्योग स्थापना नहुँदा सङ्कलन हुन नसकेको कार्यालयले जनाएको छ ।     
 
 

४ बर्ष अगाडि

प्रतिक्रिया