१ लाखको पत्थर देखाएर करोडौँको कारोबार गर्ने समुह पक्राउ

सोमबार, १६ मंसिर २०७६, १८ : ४८

करोडौँ रुपैयाँको लोभमा अवैध गतिविधि गर्ने पाँचजनाको समूह महानगरीय अपराध महाशाखाको फन्दामा परेका छन् । एक लाखको पत्थर देखाएर करोडौँको कारोबार गर्न खोज्न उक्त समूहलाई काभ्रेको पनौतीबाट अपराध महाशाखाको विशेष टोलीले नियन्त्रणमा लिएको हो ।

अपराध महाशाखाको फन्दामा पर्नेहरुमा काभ्रे बेथानचोक गाउँपालिका–४ घर भई पनौती बस्दै आएका ६२ वर्षीय नवराज खड्का र झापा गौरादह नगरपािलका–१ घर भएका ३८ वर्षीय हरि खापुङ रहेका छन् ।

यस्तै झापा शिवसत्राक्षीधाम नगरपालिका–४ घर भएका ३७ वर्षीय यमकुमार गिरी, मोरङ बुढीगंगा गाउँपालिका–५ घर भएका २५ वर्षीय लोकबहादुर सार्की र रौतहट चन्द्रपुर नगरपालिका–१ घर भएका ३३ वर्षीय भीमबहादुर लामा रहेका छन् ।

पनौती बजारमा गैरकानुनी रुपमा विभिन्न पत्थरहरु ओसारपोसार गरी करोडौं मूल्य पर्ने भनि झुक्याई कारोबार हुन्छ भन्ने विशेष सूचना आएपछि मंसिर १२ गते महाशाखाबाट टोली खटाइएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए ।

प्रहरीले उनीहरुको साथबाट विभिन्न रङका मोजनाइट, काइनेटिक, ब्ल्याक स्टोन, ग्रिन डायमण्ड जस्तो देखिने पत्थर, एल।बि। डायमण्ड जस्तो पत्थर, फेन्सि डायमण्ड जस्तो देखिने स्टोन, पुष्पराजहरु, निलम, लसुनिया, रुबीहरु समेत गरी जम्मा ५,०६१।९९ क्यारेट र  पहेंलो धातुमा जडित औंठी ८।९३ ग्राम फेला पारी बरामद गरेको छ ।

उनीहरुको साथबाट बरामद सामानलाई परिक्षणका लागि नेपाल रत्न तथा आभूषण संघमा पठाइएको महाशाखाले जनाएको छ । उनीहरुलाई आवश्यक कारबाहीको लागि त्रिभुवन विभानस्थल भन्सार कार्यालय, गौचर काठमाडौं पठाइएको छ ।

सोमबार, १६ मंसिर २०७६, १८ : ४८

प्रतिक्रिया