सीतपाईला–धार्के सडकको काम अलपत्र पार्ने ठेकेदार सम्पर्क विहीन, ठेक्का तोडिँदै

४ बर्ष अगाडि

ठेकेदारले  ठेकेदारले समयमै काम सम्पन्न नगरेपछि सीतपाईला–धार्के सडकको ठेक्का तोड्ने प्रकृया शुरु भएको छ । 

नागढुंगा–नौविसे सडकको बैकल्पिक मार्गको रुपमा निर्माण हुन लागेको उक्त सडकमा ह्युमपाईप कल्भर्टहरु राख्ने ठेकेदारले समयमै काम नगरेपछि ठेक्का तोड्ने प्रकृया शुरु भएको प्रादेशिक सडक डिभिजन कार्यालय नुवाकोटले जनाएको छ । 

उक्त सडकमा ह्युमपाईप कल्भर्टहरु राख्ने कामको लागि १६ करोडको ठेक्का कोशी एण्ड न्यौपाने÷शंकरमाली जेभीले लिएको थियो । 

८० प्रतिशत काम गरेर भुक्तानी समेत लिएको ठेकेदार कम्पनीले त्यसपछिको काम अलपत्र छाडेको छ ।

आर्थिक वर्ष २०७३/२०७४ मा ठेक्का लिएको उक्त कम्पनीले काम सम्पन्न गर्ने म्याद पुस २९ मा सकिँदैछ । 

बीचमै काम अलपत्र छाडेको कम्पनी त्यसपछि कार्यालयको सम्पर्कमा समेत गएको छैन ।

ठेकेदार कम्पनीले समयमै काम सम्पन्न नगरेपछि सडक ग्राभेल गर्ने तथा कालोपत्रे गर्ने ठेकेदारले समेत काम गर्न रोकिएको प्रादेशिक सडक डिभिजन कार्यालयका प्रमुख सिनियर डिभिजन इन्जिनियर निरज शाक्यले बताए । 

‘उसले काम समयमै नगरेका कारण त्यसपछिको ग्राभेल लगायतको काम रोकिएको छ’, शाक्यले भने, ‘काम त गरेन नै, सम्पर्क नगर्ने, कार्यालयले पटक पटक बोलाउँदा पनि नआउने, मेरो फोन नै नउठाउने सम्मको हर्कत गरेपछि हामी सार्वजनिक सूचना नै निकाल्न बाध्य भएका छौँ ।’

कार्यालयले सम्पर्कमा आउन पहिलो पहिलो पटक गत असोज १४ मा सूचना प्रकाशित गरेपनि ठेकेदार सम्पर्कमा आएको थिएन । 

त्यसपछि बाध्य भएर ठेक्का तोडी कालोसूचीमा राख्ने कारबाही अगाडि नबढाउनुपर्ने कारण भए पेश गर्न सूचना जारी गरीएको प्रमुख शाक्यले बताए । 

‘हामीले बाध्य भएर सार्वजनिक रुपमा निम्तो गरेका छाैं’, उनले भने, ‘सम्पर्कमा नआएमा ठेक्का तोड्नुको विकल्प हुँदैन ।’ 

सरकारले नौबिसे–नागढुङ्गा सडकमा हुने गरेको सवारी चापलाई कम गर्न उक्त सडकलाई वैकल्पिक मार्गको रुपमा काम अगाडि बढाएको थियो । जुन धार्केदेखि सितापाइला २३ किलोमिटर र धार्के कलंकी २५ किलोमिटर छ । 

२०५१ सालदेखि खन्न शुरु भएपनि उक्त सडक सरकारी वेवास्ताले अहिलेसम्म अलपत्र परेको भन्दै पटक पटक स्थानीयले आन्दोलन समेत गर्दै आएका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया