चारवर्षपछि शुरु भयो जोरपाटी–सुन्दरीजल सडक विस्तार कार्य

४ बर्ष अगाडि

गोकर्णेश्वर नगरपालिकाले जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तारका लागि संरचना खाली गर्न शुरुआत गरेको छ ।  

सार्वजनिक जग्गा भएको स्थानमा केन्द्रविन्दुबाट दायाँबायाँ ११÷११ मिटर र  निजी जग्गा भएको ठाउँमा केन्द्रविन्दुबाट दायाँबायाँ सात÷सात मिटर लिने गरी आजदेखि काम शुरु भएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले राससलाई जानकारी दिए। 

“स्थानीयवासीको सहमति लिएर नै सडक विस्तार शुरु गरेका हौ । नगरपालिकाले आफ्नै स्वामित्वमा रहेको भैरव स्मृति जोरपाटी बगैँचाबाट विस्तारको काम शुरुभएको छ, यसपछि सानोबजार क्षेत्र हुँदै अघि बढ्छौँ, ”उनले भने ।

संरचना हटाउन तीनै तहका निर्वाचित जनप्रतिनिधि सडकमा ओर्लेका थिए । काठमाडौँ  क्षेत्र नं ३ का सांसद कृष्णकुमार राई, प्रदेशसभा सदस्य रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाललगायत जनप्रतिनिधिहरु संरचना भत्काउने कार्यमा सहभागीता जनाएका थिए । 

सो सडक खण्ड विसं २०७५ भदौमा  कालोपत्र भइसक्नुपर्ने गरी  विस्तारका गर्न चार वर्षअघि ठेक्का भएको थियो । पहिलोपटक थपिएको म्याद गत भदौमा सकिएको थियो । यसपछि  आगामी असार मसान्तसम्म काम सक्ने गरी दोस्रोपटक म्याद थपिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।  

सडक विस्तार हुन नसकेपछि पाँच पटकसम्म सडक मर्मत कार्य भइसकेको आयोजनाले जनाएको छ । सडकमा नाली खोल्न नदिएपछि जति पटक मर्मत गरे पनि दिगो हुन नसकेको आयोजना प्रमुख अर्जुन अर्यालले बताए । 

करिब सात किमी सडक रु ५४ करोडको लागतमा विस्तार गरी कालोपत्र गर्न ठेक्का सम्झौता भएको हो । दुई खण्डमा ठेक्का सम्झौता भएकामा दुवैतिरका काम अलपत्र छ । सडक नबन्दा घाम लागेका बेला धुलो र पानी परेका बेला हिलोले किनारा क्षेत्रमा बस्न नसकिने स्थानीयवासी रामचन्द्र खतिवडाको गुनासो छ । 

यही बाटो भएर पर्यटकीयस्थल सुन्दरीजल हुँदै चिसापानी, हेलम्बु, लाङटाङलगायत स्थानमा पुग्न सकिन्छ । हेलम्बु, लाङटाङलगायत स्थानमा पदयात्रासमेत गर्न सकिने यो सडक चार वर्षदेखि अलपत्र हुँदा पर्यटकमा नकारात्मक सन्देश गएको पर्यटन व्यवसायीको दुःखेसो छ । 

स्थानीयवासीले नेपाल भ्रमण वर्ष सन् २०२० अगावै सडक कालोपत्र गर्न विगत एक वर्षदेखि माग गर्दै आएका थिए । भ्रमण वर्ष शुरु हुन एक महिना पनि बाँकी नहुँदा बल्ल काम शुरु भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया