अलपत्र बालबालिकाको उद्धार र आर्थिक सहयोग

४ बर्ष अगाडि

बाजुराको स्वामीकार्तिक गाउँपालिका–१ साप्पाटमा आमाको मृत्युपछि अलपत्र बनेका दुई नाबालकलाई एसोएस बालग्राम धनगढीले लालनपालनसहित उद्धार गरेको छ । बच्चाको सहयोगका लागि सङ्कलित रकम बच्चाका बुबालाई हस्तान्तरण गरिएको छ ।

दुई बालक अलपत्र परेको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशितपछि उद्धार गरिएको एसोएस बालग्राम धनगढीका प्रमुख पदम हमालले बताए । आमा बच्ची ल्वारको गत साउनमा मृत्युपछि तीन वर्षको देवदत्त ल्वार र छ महिनाकी वसन्ती ल्वार बेसाहारा बनेका हुन् । 

बच्चाको दूध, लत्ताकपडा र खाद्यान्नका लागि सहयोग भन्दै देशभित्र र बाहिर बसेका नेपालीबाट सङ्कलन भएको रु ६६ हजार १५० प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले बच्चाको बुबालाई हस्तान्तरण गरेको नेपाल पत्रकार महासङ्घ बाजुराका अध्यक्ष प्रकाश सिंहले जानकारी दिए ।

बालक र बालिका अलपत्र अवस्थामा परेको थाहा पाएपछि उद्धार गरेको एसोएस धनगढीले जनाएकोे छ । सञ्चारमाध्यममा अलपत्र बालबालिका समाचार प्रकाशित तथा प्रसारित भएको थाहा पाएपछि देशभित्र र बाहिरबाट पनि धेरथोर सहयोग जुटेको छ । सानै रकम भए पनि सहयोग गरेको अमेरिका बस्दै आएका गङ्गा कोइरालाले बताए।
    
स्वामीकार्तिक गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले पनि ती नाकालकलाई रु २५ हजार सहयोग गरेको बताए। सम्पत्तिको नाममा एउटा घरसमेत नभएको ल्वार परिवारलाई साना बालबच्चा हुर्काउन निकै मुस्किल भएको छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया