कर्मचारीलाई मुन्द्रा लाउनेसँग नडराउन र गैंडासँग नलोभिन मन्त्री अर्यालकाे निर्देशन

४ बर्ष अगाडि

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले  काम गर्नेक्रममा ठूला मुन्द्रा लगाउनेहरूसँग नडराउन कर्मचारीलाई सुझाव दिएकी छन् । 

नापी र भूमि व्यवस्थापन तथा अभिलेख विभागले पोखरामा आयोजना गरेको ‘आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रगति समीक्षा गोष्ठी’ मा बोल्नै मन्त्री अर्यालले उक्त सुझाव दिएकी हुन् । 

मन्त्री अर्यालले काम गर्ने क्रममा विभिन्न प्रलोभनमा नपरेर राष्ट्र र जनताको सेवामा समर्पित हुन पनि कर्मचारीलाई निर्देशन दिइन् । 

‘ठूल्ठूला मुन्द्रा लाउनेसँग नडराउनुस् । गैंडासँग नलोभिनुस्, इमान्दार भएर सेवाग्राहीको सेवामा समर्पित हुनुस्’, उनले भनिन् । 

सेवा प्रवाह, आचरणमा केही न केही फरकपना ल्याउन उनको निर्देशन छ । ‘हामीमाथि औला ठडिएको छ । औला ठडिएपछि केही न केही फरकपना आउनैपर्छ’, मन्त्री अर्यालले भनिन्, ‘हाम्रो आचरणमाथि प्रश्न उठेको छ । प्रश्न उठेपछि सावधानिपुर्वक कामकारबाहीमा कँही प्रश्न नउठोस् भनेर सचेत हुनुस ।’

अब मालपोत र नापी सुध्रिएको कुरा कार्यालयको गेटदेखि नै देखिनै गरी काम गर्न उनको निर्देशन छ । मन्त्री अर्यालले आफ्नो व्यवस्थापकीय क्षमता देखाउनेगरी काम गर्न आग्रह गरिन् । 

गल्ती नगरेकालाई टेबुलमा आएर अख्तियारले नलगेको भन्दै उनले राम्रा कर्मचारीको संरक्षण गरिने र बिनाकारण कसैलाई पनि अन्यायमा नपारिने आस्वासन दिइन् । 

उनले अब जनशक्ति कम गर्दै प्रविधिबाट काम गर्नेगरी कामको शुरुवात गरेको बताइन् । प्रविधिको सहायताले कुन कार्यालय, विभाग, निकायमा के भइरहेको छ भनेर आफ्नो कार्यकक्षबाट हेर्न सकिने व्यवस्था गरिएको पनि उनको भनाइ छ । 

‘अहिले थोरै ठाउँमा सुरू गरेको नमुना अब सबैतिर लागु हुन्छ’, उनले भनिन् ‘अबका मालपोत त नापी कार्यालय प्रविधिमैत्री कार्यालय हुन् ।’ 

४ बर्ष अगाडि

प्रतिक्रिया