अब गाउँबस्तीमै विकास योजना सम्झौता

४ बर्ष अगाडि

यहाँका केही गाउँपालिकाले नयाँ तरिकाले विकास योजना सम्झौता शुरुआत गरेका छन् । यसक्रममा तेमाल गाउँपालिकाले अघिल्ला वर्षभन्दा फरक ढङ्गले गाउँमै पुगी स्थानीय उपभोक्तासँग विकासका योजना सम्झौताको अभियान शुरु गरेको छ ।
 
काभ्रेपलाञ्चोकको अन्य स्थानीय तहभन्दा फरक गतिविधिका साथ गाउँपालिकाले स्थानीयवासीका योजनासँग उनीहरुसँगै छलफल गरी गाउँबस्तीमै उपभोक्ता समितिसँग विकासका योजना सम्झौता शुरु गरेको हो ।
 
गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङले आर्थिक वर्ष २०७६÷७७ को नीति, कार्यक्रम र बजेटअनुसार गाउँबस्तीमै उपभोक्ता समितिसँग विकासका योजना सम्झौता गर्न शुरु गरेको जानकारी दिए।
 
“स्थानीय जनतालाई सहज तथा विकास निर्माणका काममा पारदर्शिता होस् भन्ने उद्देश्यले गाउँबस्तीमै ‘घरदैलो’ योजना सम्झौता गरिरहेका छौँ”, उनले भने, “यसले विकासका काम चुस्तदुरुस्त बन्ने र जिम्मेवारीपूर्ण ढङ्गले अघि बढ्ने अपेक्षा गरेका छौँ ।” 
 
यसअघि स्थानीय उपाध्यक्षको समन्वय तथा वडाध्यक्षको सहजीकरणमा गाउँपालिकाको कार्यालय नारायणस्थानमा योजना सम्झौता गरिँदै आइएको थियो । गाउँबस्तीमै ‘घरदैलो’ योजना सम्झौता अभियानअन्तर्गत गत हप्ता वडा नं ६ को ठूलो पर्सेलबाट योजना कार्यान्वयनका लागि योजना सम्झौतासँगै अभिमुखीकरण कार्यक्रम थालिएको हो ।
 
स्थानीय रामबहादुर तामाङ उपभोक्ता समितिका पदाधिकारी पालिकामै धाउनुपर्ने बाध्यता हट्ने तथा विकास निर्माणका कामलाई पारदर्शी र जवाफदेही बनाउने विश्वास व्यक्त गर्छन । स्थानीय उपभोक्ताबाट कार्यान्वयन भएका कामलाई फछ्र्यौटमा आउने समस्यालाई स्थानीयस्तरबाटै समाधान गर्न विशेष ध्यान दिइने उपाध्यक्ष तामाङले जानकारी दिए।
 
उनले भने, “यस्तो गतिविधिले वडास्तरका जनप्रतिनिधिलाई थप जिम्मेवार भई काम गर्न हौसला मिल्नेछ ।” उहाँका अनुसार अन्य स्थानीय तहभन्दा फरक ढङ्गले योजना सम्झौताको काम गरिएको हो । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका रहेका छन् । 

वडाध्यक्ष विकु तामाङले पालिकाको अभियानअनुसार वडामा छलफल गरी छनोट भएका योजनालाई अघि बढाउन उपभोक्ता समितिसँग सम्झौता प्रक्रिया अघि बढाइएको बताए । उनले चालू आवका लागि वडाको २९ र गाउँपालिकाको चार योजनामध्ये पहिलो चरणमा सात योजना सम्झौता गरिएकोसमेत जानकारी दिए। ती वडामा चालू आवमा अधिकांश खानेपानीका योजना छन् ।  अन्यमा शिक्षा, स्वास्थ्य, बालबालिका तथा भौतिक संरचना निर्माणका रहेका छन् ।
 
यस्तै, अभियानकै क्रममा वडा नं १ मा एकै दिन २४ योजना उपभोक्ता समितिसँग सम्झौता गरिएको छ । वडाध्यक्ष मानबहादुर श्रेष्ठले भौतिक निर्माणतर्फका सडकदेखि भवनसम्मका योजना सम्झौता गरिएको जानकारी दिए। उनका अनुसार एकैदिन सम्झौता गरिएका योजनामध्ये सडक, खानेपानी तथा मन्दिर निर्माणलगायत छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया