भाडाको घरमै सकियो नेकपाको ८६ लाख ४० हजार, कार्यालय बन्ने रकम भाडामै

४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यालय भाडामै ८६ लाख ४० हजार खर्च भएको छ । 

धुम्बाराहीस्थित पासाङ ल्हामु प्रतिष्ठानको घरमा मासिक १ लाख ८० हजारका दरले अहिलेसम्म सो भाडा तिरेको हो । 

२०७२ सालमा मदननगर, बल्खुस्थित पार्टी कार्यालय भुकम्पले क्षती भएपछि तत्कालिन नेकपा (एमाले) धुम्बाराही बस्न थालेको थियो । 

भुकम्पले भवन क्षति भएपछि भवन निर्माणका लागि भन्दै आर्थिक सहायता संकलन गरेको थियो ।

तत्कालिन एमाले महासचिव इश्वर पोखरेलको नेतृत्वमा गठन भएको भवन निर्माण तथा कार्यकर्ता संरक्षण कोष समितिले १ करोड भन्दा धेरै रकम संकलन पनि गरेको थियो । 

तर भवन निर्माणको प्रकृया शुरु नहुँदा अहिलेसम्म पनि चर्को भाडामै पार्टी कार्यालय राख्नुपरेको छ । 

बल्खुको जग्गा २०४८ सालमा विजयी सांसदहरुबाट पैसा उठाएर रु २ लाखमा किनिएको तत्कालिन एमालेका केन्द्रीय सदस्य प्रदिप नेपालले बताए । 

त्यसपछि २०५० को शुरुमै पार्टी स्कुल सञ्चालन गर्नका लागि भवन निर्माण गर्ने निर्णय भएपनि जेठमा दासढुंगा दुर्घटनामा पार्टी महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रीतको निधन भएपछि भवन निर्माण तत्काल भएन । 

२०५१ सालमा पार्टीका उपमहासचिव वामदेव गौतमको नेतृत्वमा कार्यालय भवन बनेको नेकपा पार्टी कार्यालयका लेखाप्रमुख (तत्कालिन लेखापाल) खिमलाल पौडेलले बताए । 

भण्डारीको सम्मानमा ठाउँको नाम नै मदननगर राखेर उनको सम्झनामा तत्कालिन पार्टी कार्यालय अगाडी शालिक राखिएको थियो । तर अहिले खण्डहर भवन अगाडि ठिङग उभिएको शालिकले नेकपाललाई गिज्याईरहेको छ ।     

नेकपाले भने अहिले धुम्बराहीमा रहेकाे भाडाकाे घरमा केन्द्रीय कार्यालय र एकीकरण अघिकाे नेकपा माओवादी (केन्द्र) काे पेरिसडाँडास्थीत कार्यालयमा  भातृ संगठनको कार्यालय राखिएकाे छ । 

धुम्बाराहीकाे पासाङ ल्हामु प्रतिष्ठान सरकारले सामाजिक कामका लागि दिएकाे जग्गामा बनेकाे भवन हाे ।

सामाजिक कामका लागि दिएकाे जग्गामा बनेकाे भवन भाडामा लगाउन नपाइने भएपनि देशकाे सबैभन्दा ठूलाे र संसदमा दुइतिहाइ बहुमतकाे दलले नियमविपरीत भवन भाडामा प्रयाेग गरेर कानूनकाे धज्जी उडाएकाे छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया