भ्रष्टाचारविरुद्धको कार्ययोजना निर्माण गर्दै प्रदेश सरकार

४ बर्ष अगाडि

प्रदेश ३ का प्रमुख सचिव तोयम रायले प्रदेश सरकारको भ्रष्टाचार विरुद्धको कार्ययोजना निर्माण कार्य प्रारम्भ भएको जानकारी दिएका छन् । प्रमुख सचिव रायले प्रदेश सुशासन ऐन तर्जुमाको चरणमा रहेको तथा स्थानीय तहबाट सम्पत्तिको विवरण लिएर राखिएको बताए ।

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाद्धारा आयोजित कार्यक्रममा प्रदेश सरकारका तर्फबाट भ्रष्टाचार नियन्त्रणका लागि भएका र हुन गइरहेका गतिविधिका बारेमा प्रस्तुतीकरण गर्दै प्रमुख सचिव रायले खरिद प्रक्रियालाई चुस्त–दुरुस्त र पारदर्शी बनाउन सरकारले सार्वजनिक खरिद नियमावली, २०७६ स्वीकृत गराइसकेको जानकारी दिए ।

उनले सरकारले सम्पादन गर्ने कार्यहरुको जानकारी आदानप्रदान गरी गुणस्तरीय सेवा प्रवाह गर्ने तथा पारदर्शिता अभिवृद्धि गर्नका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘फलो अप डेस्क’ निर्माण भइरहेको, सोही कार्यालयमा ‘स्मार्ट कक्ष’ र ‘डिजिटल डिस्प्ले’ जडान गरिएको, सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण कार्यान्वयन चरणमा रहेको, कार्य सम्पादनका लागि आवश्यक ऐनहरुको निर्माण गरेको बताए ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाका प्रमुख शिवकुमार कार्कीले आर्थिक वर्ष २०७६–७७ को प्रथम चार महिनामा मात्र अख्तियारमा १५ हजार १६० वटा उजुरी परेको जानकारी दिए । उनका अनुसार उजुरी परेकामध्ये पाँच हजार ७४४ वटा उजुरीको फछ्र्यौट गरिएको छ भने १३८ वटा उजुरीको छानबिनका क्रममा त्रुटि देखिएकाले मुद्दा दर्ता गरिएको छ ।     
  
 

४ बर्ष अगाडि

प्रतिक्रिया