अब भाइवरमा नै ‘हाम्रो राशिफल’, हाम्राेपात्राे र भाइवरबीच समझदारी

४ बर्ष अगाडि

लोकप्रिय एप्लिकेशन ‘हाम्रो पात्रो’को राशिफल अब भाइवरमा पनि उपलब्ध हुने भएको छ । भाइवरले हाम्रोपात्रोसँगको साझेदारीमा आफ्नो प्लेटफर्मभित्र ग्रहफल च्याटबट शुरु गरेको हो । 

साझेदारीपछि भाइवर प्रयोगकर्ताले पनि दैनिक राशिफल हेर्न पाउने भएका छन । त्यसका साथै विभिन्न राशिका भविष्यवाणीहरु दैनिक, साप्ताहिक, मासिक र वार्षिक रुपमा हेर्न पाउनेछन् । 
भाइवरका अनुसार दैनिक राशिफल हरेक विहान र  व्यक्तिगत राशिफल भविष्यवाणी पनि प्राप्त गर्न सकिने छ । 

प्रयोगकर्ताको आवश्यकता अनुसार जहाँ पनि, जहिले पनि उपलब्ध हुने यो च्याटबट प्रयोगकर्ता मैत्री, लेख्य–आधारित विशेषतायुक्त हुने जनाइएको छ ।  

भाइवरलाई तत्काल कल गर्ने र सन्देश पठाउने एपका रुपमा मात्र प्रयोगगर्दै आएकोमा अब प्रयोगकर्ताहरुलाई केही नयाँ अनुभव दिलाउन राशिफल राखिएको हो । 

साझेदारी अनुसार भाइवरले हाम्रो पात्रोको विशेषज्ञता तथा विश्वसनीयतालाई अगाडि ल्याउनेछ र यो सेवाको माध्यमबाट प्रयोगकर्ताहरुलाई गहन मुल्य प्रदान गर्ने लक्ष्य राखिएको छ ।  

त्यसैगरी भाइवर प्रयोकर्ताहरुले अब बिना कुनै सदस्यता शुल्क दैनिक, साप्ताहिक, मासिक र वार्षिक राशिफल आफूले पाउन, अन्वेषण गर्न र अरुसँग शेयर गर्न सक्नेछन् । 

सहकार्य समारोहलाई सम्बोधन गर्दै हाम्रो पात्रोका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत शंकर उप्रेतीले भने “नेपाली मोबाइल–एप उद्योगको एक अग्रणी भएको नाताले हामी हाम्रा प्रयोगकर्ताहरुलाई आफ्नो दैनिक गतिविधिहरुसँग सम्बन्धित महत्वपूर्ण जानकारीहरु प्राप्त गर्न र समुदायसँग नजिक रहिरहन सक्षम बनाउन हाम्रो प्लेटफर्ममा सेवाहरु निरन्तर उपलब्ध गराउन प्रयासरत छौं । हामी राकुटेन भाइवरसँग यो साझेदारी गर्न पाएकोमा र भाइवर एपमा देशभरका हाम्रा प्रयोगकर्ताहरुलाई आफ्नो राशिफलको भविष्यवाणी प्राप्त गर्न र अद्यावधिक गर्न सक्षम गराउन सकेकोमा खुशी छौं ।”

सोही समारोहमा आफ्नो भनाइ राख्दै राकुटेन भाइवरका सिनियर निर्देशक अनुभव नइयरले भने “ज्योतिष शास्त्र नेपाली संंस्कृतिको एक अभिन्न हिस्सा हो र हामी हाम्रो पात्रोसँग सहकार्य गर्न पाएकोमा तथा हाम्रा नेपाली प्रयोगकर्ताहरुको औंलामा नै राशिफल ल्याउन सकेकोमा प्रफुल्लित भएका छौं ।”

उनले आफ्नो लागि नेपाल एक मुख्य बजार भएको र यो पहलकदमीले आफ्नो स्थानलाई अझ सुदृढ पार्ने उद्देश्यबाट अभिप्रेरित रहेको बताए । 

हामी त्यस्तो अनुभूति सिर्जना गर्न चाहन्छौं, जुन हाम्रा प्रयोगकर्ताहरुको लागि सन्दर्भयुक्त एवं सम्बन्धित होऊन् । हामी ढुक्क छौं कि हालैको संयोजनले हाम्रा प्रयोगकर्ताहरुलाई थप अर्थपूर्ण मुल्य ल्याउनेछ ।”

४ बर्ष अगाडि

प्रतिक्रिया