बीमा कम्पनीले ब्रान्चलेस बीमा सेवा सञ्चालन गर्न सक्ने, यस्तो आयो बीमा समितिको निर्देशन

४ बर्ष अगाडि

काठमाडौं – बीमा कम्पनीहरूलाई शाखा रहित बीमा सेवा सञ्चालन गर्नका लागि बाटो खुला भएको छ । हाल बैंकहरूले शाखारहित बैंकसेवा सञ्चालन गर्दै आएका छन् । अब बीमा कम्पनीले पनि त्यही मोडेलमा मानिसहरुको घरदैलोमा पुगेर बीमालेखहरु बिक्री गर्न पाउनै भएका छन् । 
बीमा समितिले ‘शाखारहित घुम्ती बीमा सेवा सम्बन्धी मार्गदर्शन, २०७६’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । उक्त मार्गदर्शनको अधिनमा रहेर  बीमा कम्पनीहरुले शाखा रहित घुम्ती बीमा सञ्चालन गर्न सक्ने बीमा समितिको भनाइ छ । 
घुम्ती बीमा सेवा सञ्चालन गर्ने कम्पनीले आवश्यक कार्यविधि बनाउनुपर्ने छ । एक वा एक भन्दा बढी बीमा कम्पनीहरुले एक आपसमा समन्वयन गरि घुम्ती बीमा सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ । 
यद्यपि, यसलाई अनिवार्य भने गरिएको छैन । तर, निर्जीवन बीमा कम्पनीलाई कृषि बीमा गर्न तोकिएको जिल्लामा सम्बन्धीत कम्पनीले अनिवार्य रुपमा घुम्तीबीमा सेवा सञ्चालन गर्नुपर्ने मार्गदर्शन उल्लेख छ । 
कम्पनीले महानगरपालिका र उपमहानगरपालिकामा घुम्ती बीमा सञ्चालन गर्न पाउने छैनन् । यद्यपि, जीवन बीमा कम्पनीले त्यस्ता स्थानीय तहका सीमावर्ती वार्डहरुमा भने घुम्ती बीमा सेवा सञ्चालन गर्न सक्ने छन् । ग्रामिण क्षेत्रलाई प्राथमिकतामा राखेर यस्तो व्यवस्था गरिएको समितिको भनाइ छ ।
बीमा कम्पनीहरुले घुम्ती बीमा सेवा सञ्चालनमा लघुबीमालाई प्राथमिकता दिनुपर्ने बताइएको छ । अहिले बीमाका अभिकर्ताले नै घरदैलोमा गएर बीमालेख बिक्री गरेका छन् । तर, उनीहरुले व्यवसायलाई प्राथमिकतामा राख्दा तल्लो बर्गका मानिस बीमाको दायरामा आउन पाएका छैनन् । तसर्थ, लघुबीमालाई प्राथमितामा राखेर नयाँ व्यवस्था ल्याइएको हो । कम्पनीले  अभिकर्ता नभएर आफ्नै कर्मचारी मार्फत यस्तो सेवा विस्तार गर्नुपर्ने छ । र, कर्मचारीको दुर्घटना बीमा गरिदिनुपर्ने पनि मार्गदर्शनमा उल्लेख छ । 
घुम्ती बीमामा जीवन बीमा कम्पनीले सावधिक र म्यादी जीवन बीमाको पोलिसी बिक्री गर्न सक्नेछन् । तर, त्यसको बीमांक रू. ५ लाख भन्दा बढीको हुनुहुदैन । यस्तै, उनीहरुलाई एकल बीमाशुल्क भएको जीवन बीमा र बैदेशिक रोजगारी म्यादी जीवन बीमाको पोलिसी बिक्री गर्न पनि रोक लगाइएको छ  ।
यस्तै, निर्जीवन बीमा कम्पनीले कृषि, दुर्घटना र घर बीमाको पोलिसी बिक्री गर्ने सक्नेछन् । यद्यपि, त्यसमा रू. ५० लाख भन्दा बढीको घरको बीमा गर्न भने रोक लगाइएको छ । साथै, घुम्ती बीमा सामुन्द्रिक, हवाई, इन्जिनियरिङ र मोटर बीमाका पोलिसी बिक्री गर्न पनि रोक लगाइएको छ । उक्त कारोबारबाट आएको पैसा सोही दिन वा त्यो दिनपछि बैंक खोल्ने दिनमा सम्बन्धीत कम्पनीको खातामा रकम जम्मा गर्नुपर्ने हुन्छ ।  यस्तो कारोबारको तथ्यांक त्रैमासिक रुपमा बीमा समितिमा बुझाउनुपर्ने हुन्छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया