मालपोतमा अनलाइनको काम सुस्त

४ बर्ष अगाडि

मालपोत कार्यालय जुम्लामा अनलाइन प्रणालीबाट सेवा सञ्चालन भएदेखि सेवाग्राहीले दुःख पाएको गुनासो गरेका छन् । पहिले एक दिनमै हुने काम अहिले अनलाइनबाट हुँदा एक हप्तादेखि झण्डै एक महिनासम्म लाग्ने गरेको सेवाग्राहीले गुनासो गरेका छन् । 

कनकासुन्दरी गाउँपालिका–८ भट्टवाडाकी विष्णुमाया भट्टले मालपोत कार्यालय धाउन लागेको छ दिन भएको बताए । अझै कति दिन लाग्ने भन्ने थाहा नभएको उनको गुनासो छ । भट्टवाडाकै कृष्ण भट्ट पनि मालपोत धाउन लागेको आठ दिन भयो । प्रणालीले काम नगर्दा काम हुन नसकेको कर्मचारीले बताउने गरेका उनको भनाइ छ । 

बिना पूर्वतयारी हतारमा अनलाइन प्रणालीबाट सेवा दिँदा यस्तो परिणाम आएको भट्टले बताए । गुठिचौर गाउँपालिका–४ प्याकुरेवाडाकी कर्मकन्या प्याकुरेल पनि मालपोत कार्यालय धाउन लागेको चार दिन भयो । उनले पनि कर्मचारीले इन्टरनेट छैन भनेर आफ्नो काम नभएको सुनाए । प्याकुरेलले वृद्ध सासूलाई यसरी हरेक दिन मालपोतमा ल्याउँदा दुःख भएको बताए ।

प्याकुरेवाडाकै कृष्णप्रसाद प्याकुरेलले टोकनअनुसार काम नभएको बताए । उनले २० दिन मालपोत धाउँदा पनि काम नभएको दुःखेसो पोखे । यसरी २० दिनसम्म मालपोत धाउँदा आफ्नो दैनिक कार्यमा बाधा पुगेको उनले सुनाए । मालपोत कार्यालयका प्रमुख मीनबहादुर रावलले इन्टरनेट नचलेकै कारण ढिला भएको स्वीकार गरे । बिहान–बेलुका इन्टरनेट चल्ने तर दिउँसो कार्यालय समयमा नचल्दा समस्या भएको प्रमुख रावलले बताए । 

इन्टरनेट नचल्दा दिनमा एक÷दुईवटा मात्र काम हुने गरेका उनले बताए । इन्टनेट नचलेर काम नहुँदा स्वाभाविक रुपमा सेवाग्राहीको गुनासो आउने गरेको उनले भने, ढिलासुस्तीको समाधान हुन अझै केही दिन लाग्ने रावलले जानकारी दिए। उनले वृद्धवृद्धा, अशक्त जस्ता शारीरिक कमजोरी भएका बाहेक अरू सबैलाई टोकनअनुसार नै काम गरेको उनले बताए । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया