स्वदेशमै रोजगारीको अवसर जुटाउँदै कान्तिभैरव सहकारी

४ बर्ष अगाडि


श्री कान्तिभैरव बचत तथा ऋण सहकारी संस्थाको चालु आर्थिक वर्षसम्म स्थायी सम्पत्ति रु एक करोड ९२ लाख २७ हजार ६९२ पुगेको छ । काठमाडौँ महानगरपालिका–६, ७ र ८, गोकर्णेश्वर नगरपालिका एवं बूढानीलकण्ठ नगरपालिकाको कपनलाई कार्यक्षेत्र बनाएको सहकारीको १६औँ वार्षिक साधारणसभामा प्रस्तुत वार्षिक प्रतिवेदनमा अघिल्लो आवसम्म रु एक करोड ५५ लाख ४८ हजार ९२७ स्थायी सम्पत्ति थियो । गोकर्णेश्वर–८ मा संस्थाको आफ्नै जमीन र भवन भएकाले स्थायित्वमा टेवा पुगेको कोषाध्यक्ष रामेश्वर श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन २०७६ मा उल्लेख छ । 

यसैगरी सहकारीको शेयर पूँजी रु पाँच करोड ४९ लाख ४६ हजार १२७ पुगेको छ । निक्षेप बचत रु ४६ करोड १२ लाख ८३ हजार ३९१ पुगेको विवरण साधारणसभामा पेश गरियो । साधारणसभा उद्घाटन गर्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले सहकारीले नगरवासीको जीवनस्तर उकास्न सहयोग गरेको बताए । सहकारीलाई अझै व्यवस्थित गर्दै सक्षम बनाएर अघि बढाउन नगरपालिकाले सहयोग गर्ने बताए । 

कार्यक्रममा सहकारीका अध्यक्ष प्रेम श्रेष्ठ, सदस्यसचिव रामदास श्रेष्ठलगायतले विदेश जाने युवालाई सहुलियत दरमा ऋण दिई स्वदेशमै रोजगार दिने विषयलाई प्राथमिकता दिइएकोबताएका थिए । देशभर खुलेका ३४ हजार ५०० वटै सहकारीले युवालाई स्वरोजगारको व्यवस्था गर्ने नीतिलाई प्राथमिकता दिए विदेश जाने सङ्ख्यामा कमी आउनेमा उहाँहरुको जोड थियो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा संस्थाका सदस्यहरु वैदेशिक रोजगारमा जानुको सट्टा आफ्नै देशमा रोजगार सृजना गरी गराई व्यवसायी बनाउने, आत्मनिर्भर हुने वातावरण बनाउने तथा सोका लागि आवश्यक परामर्श दिने नीतिसमेत पारित गरेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया