नेकपाकाे नजरमा चीन अमेरिका टकराव : नेपालको आर्थिक विकासका लागि अवसर र चुनौती दुबै

४ बर्ष अगाडि

नेपाल कम्युनष्टि पार्टी नेकपाले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) र अमेरिकाको इण्डो–प्यासिफिक रणनीतिको टकराव नेपालका लागि अबसर र चुनौती दुवै रहेको निचोड निकालेको छ । 

आजदेखि शुरु भएको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा  यस्तो निचोड निकालिएको हो । 

आफ्नो अति महाशक्तिको स्थिति कायम राख्ने संयुक्त राज्य अमेरिकाको चाहना र त्यसको प्रतिवाद गरी आफूलाई विश्व अर्थतन्त्र र शक्तिको केन्द्र बनाउने चीनियाँ रणनीतिका वरिपरि विश्वको राजनीति घुम्न थालेको प्रतिवेदनमा उल्लेख छ । 

‘दक्षिण एसिया र नेपालको भू–राजनीतिक अवस्थितिको संवेदनशीलताका कारण उपरोक्त विश्व राजनीतिक परिस्थितिका संकेतहरूले एकै साथ हाम्रा अगाडि चुनौति र सम्भावना बोकेर आएका छन्’, प्रचण्डले भनेका छन् । 

प्रचण्डले प्रतिवेदनमा स्वतन्त्र एवम् आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासका निम्ति राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर  चीन र भारत दुबैसँग असल छिमेकी सम्बन्ध कायम राख्नुपर्ने पनि उल्लेख गरेका छन् । 

‘दुबै छिमेकीको तीब्र आर्थिक विकासबाट लाभ लिने आर्थिक कुटनीतिमा अगाडि बढ्नु र मूख्य रुपमा देशको राष्ट्रिय स्वाधिनता, राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षा गर्न अगाडि बढ्नु नै आजको आवश्यकता हो’, प्रतिवेदनमा भनिएको छ ‘हामी असंलग्न विदेश नीतिका आधारमा सबैसँग मित्रता कायम गरी आफ्नो राष्ट्रको स्वतन्त्रताको रक्षा एवम् जनताको आर्थिक समद्धिको चाहना पुरा गर्न चाहन्छौं ।’

प्रतिवेदनमा सिमित विश्व वित्तिय पूँजीवादतर्फकेन्द्रित भएको भन्दै यसले तेश्रो विश्वका मुलुकको राष्ट्रिय एकता र स्वाधिनतालाई समाप्त पार्ने षड्यन्त्र भैरहेको उल्लेख गरिएको छ । 

‘मुख्यतः तेस्रो विश्वका देशहरूलाई कषि र औद्योगिक उत्पादनबाट विस्थापित गरी बलिया बहुराष्ट्रिय निगमका बजारमा परिणत गर्न, युवा श्रमशक्तिलाई सस्तोमा खरिद गरेर ती देशहरूलाई विप्रेषणमा बाँच्न वाध्य पार्न जनताहरूमा जातीय, क्षेत्रीय र धार्मिक साम्प्रदायिक विद्वेष र द्वन्द्व सिर्जना गरी राष्ट्रिय एकता र स्वाधिनतालाई समाप्त पार्ने षड्यन्त्र आदिका रुपमा वित्तिय एकताधिकार पूंजीवाद देखापरिरहेको छ’, प्रतिवेदनमा उल्लेख छ । 

पश्चिमका शक्ति राष्ट्रहरूले आयातमा कडा भन्सार नीति लागू गरेर संकीर्ण राष्ट्रिय अहंकारवादको पक्षपोषण सहित दक्षिणपन्थी अतिवादलाई प्रश्रय दिईरहेको पनि प्रचण्डले बताएका छन् । 

अहिले चीनले आर्थिक विकासमा तीव्रता लिईरहेको र भारतीय अर्थतन्त्रको पनि विकासका कारण  अबको विश्व शक्तिको केन्द्र एसिया बन्ने सम्भावना देखा परेको प्रतिवेदनमा औंल्याइएको छ । 

‘चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ एसियाली पर्वाधार विकास बैंक, चीन, रुस, ब्राजिल, दक्षिण अफ्रिका र भारतका बीचको बिक्स आदिले पश्चिमा शक्ति विरुद्ध गरिएका सचेत पहललाई दर्साउँछन्’, प्रतिवेदनमा भनिएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया