अन्तराष्ट्रिय बजारमा ५ अर्बको ऋणपत्र जारी गर्दै निफ्रा, लण्डनको एक्सचेञ्जमा दर्ता गर्ने तयारी

४ बर्ष अगाडि

काठमाडौं -  नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले विश्व बजारमा नै रू. ५ अर्ब बराबरको ऋणपत्र जारी गर्ने भएको छ । अफसोर बोन्ड नाम गरिएको उक्त ऋणपत्र जारी गर्ने प्रक्रिया अगाडि बढाइएको बैंकले जानकारी दिएको छ । 
स्वदेश तथा विदेशबाट दीर्घकालिन स्रोत संकलन गर्ने उद्देश्य सहित उक्त बोन्ड जारी गर्न लागिएको बैंकको भनाइ छ । बैंकले यसका लागि डेढ महिना अगाडि नेपाल राष्ट्र बैंकमा आवेदन पनि दिइ सकेको छ । राष्ट्र बैंकले स्वीकृति दिएपछि बोन्ड निष्काशनको प्रक्रिया अगाडि बढाउने बैंकले बताएको छ । बैंककाअनुसार उक्त बोन्ड लण्डन स्टक एक्सचेन्जमा दर्ता गर्ने योजना छ । 
बैंकले आइतबार आफ्नो प्रथम साधारणसभा पनि सम्पन्न गरेको छ । सो सभाले रू. ८ अर्ब बराबरको आईपीओ जारी गर्ने प्रस्ताव स्वीकृत गरेको छ, उक्त आईपीओ नेपालको धितोपत्र बजारको हकमा सबैभन्दा ठुलो हो । बैंकले आफ्नो जारी पुँजीको ४० प्रतिशत आईपीओ जारी गर्न लागेको हो । हाल बैंकको जारी पुँजी २० अर्ब छ । तर, त्यसमा संस्थापक तर्फ १२ अर्ब बराबरको चुक्तापुँजी जुटीसकेको छ । 
निर्फा नेपालको एक मात्रा पुर्वाधार बैंक हो । बिभिन्न परियोजनामा लगानी गर्ने उद्देश्य सहित गत फागुनदेखि उक्त बैंक सञ्चालनमा आएको थियो । यसमा नेपाल सरकारको पनि १० प्रतिशत शेयर हिस्सा रहेको छ । हालसम्म यो बैंकले २ वटा जलविद्युत् आयोजनाहरुमा रु. ३ अर्ब लगानी स्वीकृत गरिसकेको छ भने सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका अन्य विभिन्न पूर्वाधारका परियोजनाहरुको पहिचान एवं आवश्यक अध्ययन गरिरहेको छ । उक्त परियोजनाहरुलाई आवश्यक स्रोत संकलन गर्दै निकट भविष्यमै लगानी विस्तार गर्दे जाने बैंकको योजना छ ।
होटल ¥याडिसन, लाजिम्पाट काठमाडौंमा सम्पन्न उक्त सभाको अध्यक्षता बैंक सञ्चालक समितिका अध्यक्ष अनुज अग्रवालले गरेका थिए । सो अवसरमा बैंक सञ्चालक समितिका सदस्यहरु रामशरण पुडासैनीज्यू, चन्द्र प्रसाद ढकालज्यू, लालमणि जोशीज्यू र नुमनाथ पौडेलको उपस्थिती थियो । त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीज्यू, नायव प्रमुख कार्यकारी अधिकृत श्री भुपेन्द्र पाण्डेज्यू लगायत बैंकका उच्च तहका अधिकृतहरुको समेत उपस्थिती रहेको थियो । 
उक्त सभालाई सम्बोधन गर्दै का अध्यक्ष अनुज अग्रवालज्यूले बैंकले समिक्षा अवधि सम्म हासिल गरेका उपलब्धिहरु, चालु आ.व.को लागि तय गरिएका योजना तथा लक्ष्यहरु एवं भावी रणनीति बारे शेयरधनी महानुभावहरुलाई जानकारी गराएका थिए । 
सभाबाट अनुज अग्रवाल, चन्द्र प्रसाद ढकाल र लालमणि जोशी आगामी ४ वर्षे कार्यकालको लागि सञ्चालकमा निर्विरोध चयन पनि भएका छन् । रामशरण पुडासैनी भने नेपाल सरकारबाट मनोनित सञ्चालक हुन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया