सडकमै खाऔँ, सडकमै रमाऔ,  पोखरा जाऔँ...

४ बर्ष अगाडि

पोखरामा हुन लागेको सडक महोत्सव प्रचारप्रसारको टोली चितवन आइपुगेको छ । भ्रमण वर्षको उपलक्ष्यमा रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराले अगामी पुस १२ गतेदेखि १६ गतेसम्म पर्यटकीय केन्द्र लेकसाइटको तीन किलोमिटर क्षेत्रमा २१औँ सडक महोत्सव आयोजना गर्दैछ । 

रेवानद्वारा आज सौराहामा आयोजित पत्रकार सम्मेलनमा ‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ महोत्सव गर्न लागिएको जानकारी गराइएको थियो । यस वर्षको महोत्सव सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन २०२० को शुभारम्भसँगै हुँदैछ । 

यसको प्रचारप्रसारका लागि रेवानको टोली इटहरी, जनकपुर हुँदै चितवन आइपुगेको हो । महोत्सवका सहसंयोजक नरेश भट्टराईका अनुसार रु ७० लाखको हाराहारीमा खर्च गरी आयोजना गर्न लागिएको सो महोत्सवमा रु ८५ लाख बराबरको आम्दानी हुने जनाइएको छ । महोत्सवको मुख्य आकर्षक राष्ट्रिय तथा अन्तरराष्ट्रिय सांस्कृतिक कार्यक्रम, नेपालको लोपोन्मुख सांस्कृतिक कार्यक्रम तीन किलोमिटर सडकमा रहेका स्टेजमा प्रदर्शन गरिने, सडकमा नै राष्ट्रिय तथा अन्तरराष्ट्रिय खानाका परिकार रहेका छन् । 

यस्तै हस्तकला प्रदर्शनी, विभिन्न मनोरञ्जनात्मक खेलकूदका कार्यक्रम, साहसिक पर्यटन खेलकूद वृत्तचित्र प्रदर्शनी, बालउद्यान, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रदर्शनीलगायतका रहेको उहाँले जानकारी दिए । 

सो महोत्सवमा चितवन, काठमाडौँ, वीरगञ्ज, भैरहवा, जनकपुर, लुम्बिनीलगायतका जिल्लाबाट र छिमेकी देश भारतको लखनउ, गोरखपुरबाट पर्यटक आउने विश्वास गरिएको छ । 

सडकमा नै विभिन्न प्रकारका दुई हजारभन्दा बढी कक्ष रहने सो महोत्सवमा खानाको परिकारसँगै रमाउन सकिने छ  । पर्यटन प्रवद्र्धनका लागि गण्डकीप्रदेश र पोखरा पर्यटन व्यवसायीसँगै मिलेर लागेको रेवान पोखरा महोत्सव प्रवद्र्धन समितिका संयोजक सूर्यबहादुर भुजेलले जानकारी दिए । 

रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले पोखराको पर्यटन प्रवद्र्धनसँगै ती पर्यटकलाई चितवन ल्याउनका लागि सहकार्य भइरहेको बताए । पोखरामा हुने यस महोत्सवमा चितवनको पर्यटकीय क्षेत्रका बारेमा जानकारी गराइने उहाँले जानकारी दिए । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया