शहरमा सामन्तको झल्को दिँदै एनआईसी एसिया बैंक, ऋण दिँदै उठीबास लगाउँदै

४ बर्ष अगाडि

पहिले पहिले गाउँमा सामन्त र साहु महाजनले गरिबलाई ऋण दिएर उठीबास लगाएको बिरोधमा रक्तपातपूर्ण आन्दोलनहरु भए । 

सामन्त भन्दै आन्दोलनमा उनीहरुलाई निर्मम तरिकाले हत्या पनि गरियो । फलस्वरुपमा गाउँमा त्यस्तो सामन्ती प्रबृत्ति थोरै घटेको छ, भए पनि खुलेआम छैन । 

तर त्यस्ता सामन्तहरुकाे खुलेआम लुट अहिले शहरमा देखिन थालेकाे छ, जाे व्यक्तिको रुपमा नभइ संस्थागत रुपमा स्थापित छन् । 

त्यसमध्येको एक हो एनआईसी एसिया बैंक लिमिटेड । जसले जनतालाई फकाइफुलाई ऋण दिएर चार महिनामै घरबार बिहीन बनाएको घटना सार्वजनिक भएको छ, त्यो पनि देशको राजधानी काठमाडौंमा ।

स्यूचाटारका छापाखाना व्यवसायी गणेशमान सिंह सस्तो ब्याजदरमा ऋण लिने बैंकको खोजीमा थिए । सोधीखोजीको क्रममा उनी एनआईसी एसीयाको सम्पर्कमा पुगे । विभिन्न आकर्षक प्याकेजको प्रलोभनमा जनतालाई लोभ्याएको बैंकको चिप्लो कुरामा सिँह पनि लोभिए । 

यो गतवर्षको मंसिरको कुरा हो । सिँहले एनआईसी एसिया बैंकको बानेश्वर शाखाबाट घरजग्गा धितो राखेर कम्पनीको नाममा एक करोड ३० लाख कर्जा लिए । त्यो बेला घरको मूल्यांकन १ करोड ४९ लाख गरिएको थियो । 

मंसिरमा ऋण लिएका उनले फागुनसम्म किस्ता खुरुखुरु तिरे । फागुनमा किस्ता तिर्न केही ढिला भएको मात्र के थियो, त्यसपछि शुरु भयो एनआईसी एसीयाकोको सामन्ती प्रबृत्ति । 

शुरुमा आफ्नै परिवारको सदस्य जस्तो गरेर ऋण दिने शाखा प्रवन्धको तुरुन्त सरुवा गरेर बैंकले उनी लगायतका ऋणीमाथी फरक ब्यवहार देखाउन शुरु ग¥यो । व्यवहारमा फरक मात्र होइन फागुनमा किस्ता ढिला तिरेको भन्दै तत्काल ऋण तिर्न भन्दै ३५ दिने सूचना समेत जारी ग¥यो । 

ऋण लिएको ४ महिना नवित्दै चैतमा धितोबापतको घर लिलामीमा राख्यो । १५ वर्षमा तिर्ने गरी लिएको ऋणको एक महिनाको किस्ता नतिरेबापत बैंकले धितो लिलाममा राखेपछि सिँह छाँगाबाट खसेजस्तै भए । 
'धेरै हारगुहार गरेँ, तर बैंकका कर्मचारीको ब्यवहार फेरीईसकेको थियो, मेराे केही जोर चलेन', उनले भने 'आखिर  गत साउनमा ७६ लाखमा घर लिलाम गरेरै छाड्यो, त्यो पनि वास्तविक मूल्यांकन भन्दा ५४ लाख कम मूल्यमा ।'

घर लिलाम गरेपनि पनि उनको पूरै ऋण चुक्ता भएन ।  ६५ लाख ३६ हजार त उनको ऋण बाँकी नै थियो । 

बैंकले मंसिरमा घरको वास्तविक मूल्यांकन १ करोड ४९ लाख कायम गरेर १ करोड ३० लाख ऋण दिएको भएपनि चार महिना पछि चैतमा जम्मा ७६ लाख मूल्यांकन गरेको थियो । 

जग्गा लिलाम गरिदिएपछि धितो राखेको छोटो समयमै वास्तविक मूल्यांकन भन्दा कम गरेपछि गलत तरिकाले मूल्यांकन गरी घर बेचिदिएको भन्दै उनी अदालत गए । 

काठमाडौं जिल्ला अदालतले कार्तिक २१ गते घरजग्गा सिंहकै नाममा राख्न अन्तरिम आदेश दियो । 

यसरी जनतालाई ऋण दिने नाममा उठीबास लगाउने बैंकको कुकृत्य बैंकिङ्ग कसुर भएको राष्ट्रबैंकको ठहर छ । ‘६ महिनामा ५०÷६० लाख धितोको मूल्यांकन घटाउनु बैंकिङ्ग कसुर हो’ राष्ट्रबैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौला भन्छन् ‘कानूनअनुसार कार्बाही गर्नुपर्छ ।’ 

सो बैंकको जनतामारा प्रबृत्ति यो मात्रै होइन । जनतालाई उठीबास लगाउने उसको रणनीति नै छ । चितवनका एक व्यापारीले पनि आफूलाई बैंकले उठीबास लगाउन थालेको दुःखेसो पोख्छन् । 
आफू अझै बैंकको ऋणी रहेकोले आफ्नो नाम नबताउने शर्तमा उनी बैंकले फकाएर ऋण दिने र तुरुन्तै सामन्ती शैलीम उत्रने गरेको बताउँछन् । 

‘ऋणको लागि बुझ्दै जाँदा बैंकका म्यानेजर परिवारकै सदस्यजस्तै गरेर प्रस्तुत भए, ऋण लिउँ लिउँ जस्तो ब्यवहार देखाए’, उनी भन्छन् ‘तर ऋण लिने वित्तीकै बैंकले म्यानेजर परिवर्तन ग¥यो र उनी यति आक्रोशित रुपमा प्रस्तुत भएकी तत्काल ऋण तिरेर उम्किनुजस्तो ब्यवहार भयो ।’ 

एकजना शाखा प्रवन्धकले कर्जा प्रवाह गरेपछि तुरुन्तै प्रवन्धकको सरुवा गरेर सामन्ती प्रबृत्तिमा ऋण उठाउन खोज्ने प्रबृत्ति एनआईसीका देशभरीका शाखामा रहेको ऋण लिनेहरु बताउँछन् । 

‘एउटा प्रवन्धकले लगातार कर्जा प्रवाह गर्छ, अर्कोले आएर धमाधम धितो लिलाम गर्छ’, दाङका एक व्यवसायी प्रश्न गर्छन् ‘नवसामन्ती प्रबृत्तिले जनताको उठीबास हुन लाग्यो, नियामक निकायले के हेरेर बसेको छ?’  

४ बर्ष अगाडि

प्रतिक्रिया