जनकपुर उच्च अदालतको वीरगन्ज इजलासले बाराको सिमरा क्षेत्रका ५ उद्योगले लिएका ट्रंक लाइनको विद्युत महसुल तत्काल तिर्न उद्योगीलाई आदेश दिएको छ ।
अदालतले उद्योगीले दायर गरेको मुद्दा खारेज गरेपछि ट्रंक लाइनको विगत ४ वर्षदेखिको रु ३ अर्ब २० करोड महसुल तिर्नुपर्ने भएको हो । नेपाल विद्युत प्राधिकरणका अनुसार जगदम्बा स्टील, असोक स्टील, हुलास स्टील, हामा आइरन र सूर्य नेपाल प्रालिले ट्रंक लाइन वापतको महसुल तिर्नुपर्ने भएको हो ।
उच्च अदालतले उद्योगीको मुद्दा खारेज गरेको हो । मुद्दा खारेज भएसँगै महसुल उठाउन वैधानिकता मिलेको छ ।
२०७२ साउनदेखिको महसुल उठाउन प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङको स्वीकृति लिई सबै उद्योगमा बिल पठाउने तयारी गरिएको छ ।
सिमाराका ६ उद्योगले ट्रंक लाइनको विद्युत सेवा लिइरहेका छन् । वितरण केन्द्रले ट्रंक लाइनको महसुल उठाउन चिठ्ठी काटेपछि ६ मध्ये ५ उद्योग महसुल तिर्न नसक्ने भन्दै अदालत पुगेका थिए ।
डेडिकेटेड फिडरको सेवा लिएका २ उद्योगले भने नियमित महसुल तिरिरहेका छन् । देशभरका २ सय ९८ उद्योगले ट्रंक लाइन तथा डेडिकेटेड फिडरबाट विद्युत सेवा लिँदै आएका छन् ।
प्रतिक्रिया