भ्रमण वर्षको योजना छैन कैलालीका स्थानीय तहसँग

पुस २८, २०७६ | आजको अर्थ
ajaako_artha

नेपाल भ्रमण वर्ष २०२० शुरु भए पनि कैलालीको पूर्वी क्षेत्रका स्थानीय तहले पर्यटन लक्षित कुनै योजना तयार पार्न सकेका छैनन् ।

कैलालीको भजनी नगरपालिलले भ्रमण वर्ष लक्षित कुनै योजना बनाएको छैन । न त नगरपालिकाले पर्यटन क्षेत्रको विकासका लागि बजेट छुट्याएको छ । 

नगपालिकाभित्र थुप्रै पर्यटकीय सम्भावना बोकेका क्षेत्र छन् । विश्वको दुर्लभ जलचर प्राणी डल्फिन क्षेत्र भजनी नगरपालिकामा पर्दछ । नगपालिकाभित्र लौकाहा–भौकाहा ताललगायत थुप्रै पर्यटकलाई लोभ्याउने क्षेत्र भए पनि त्यसको प्रचार–प्रसार नगरपालिकाले गर्न नसकेको स्थानीयवासी अर्जुन खत्रीले बताए। 

उनले नगरपालिकाले पर्यटकीय क्षेत्रको प्रचारमा ध्यान दिन सकेको अवस्थामा आन्तरिक तथा बाह्य पर्यटककाबाट नगरपालिकाले आफ्नो आन्तरिक आयस्रोतलाई अझै मजबुत बनाउन सक्ने बताए।

भजनी नगरपालिकाका नगरप्रमुख शेरबहादुर चौधरीले भ्रमण वर्षलाई लक्षित गरी नगरपालिकाले कुनै योजना नबनाएको बताए। उनले २०७५ लाई कैलाली भ्रमण वर्षका रुपमा मनाउँदा खर्च धेरै भएको तर त्यसको प्रतिफल प्राप्त नभएकाले भ्रमण वर्षको योजना नबनाएको बताए। “आवश्यकता परे कार्यपालिकाको बैठकबाट योजनासहित आवश्यक बजेट विनियोजन गर्न सकिन्छ”, नगरप्रमुख चौधरीले भने, “तर यही अवस्थामा योजना बनाएर कुनै प्रतिफल हासिल गर्न सकिँदैन । कैलाली भ्रमण वर्षजस्तै उपलब्धि नहुने अवस्थामा योजनामात्रै बनाउनुको कुनै अर्थ छैन ।”

भ्रमण वर्षका लागि टीकापुर नगरपालिकासँग पनि कुनै योजना छैन । नगरपालिकाका नगरप्रमुख तपेन्द्रबहादुर रावलले नगरपालिकाले हालसम्म कुनै योजना तय गरिनसकेको बताए। उनले कार्यपालिका सदस्य रमेश विकको संयोजकत्वमा समिति गठन भएको बताउँदै योजना निर्माणका लागि काम भने शुरु भएको बताए। 

त्यस्तै टीकापुर नगरपालिका क्षेत्रमा पर्यटकका लागि आकर्षक घुम्ने गन्तव्यहरु भए पनि नगरपालिकाले नीतिगत योजना नै बनाएर यो गर्ने भन्ने केही नभएको नगरपालिकाकी सूचना अधिकृत रञ्जु आचार्यले बताए । “पर्यटन क्षेत्रको विकास र स्तरोन्नतिका लागि चालु आवको योजनामा नगरपालिकाले समेटेको छ”, अधिकृत आचार्यले भने, “कार्यपालिकाको बैठकबाट भ्रमण वर्षका लागि योजना तय गरिनेछ । त्यहीअनुसार टीकापुर आउने पर्यटकको स्वागत सम्मानका लागि पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गरिनेछ ।” 

टीकापुर नगरपालिकामा पर्यटकहरुका लागि टीकापुर पार्क,  ऐतिहासिक विविधता बोकेको पदमप्रकाशेस्वर मन्दिर, कर्णाली, मोहना नदीमा पाइने विश्वकै लोपोन्मुख जलचर प्राणी डल्फिन, बिपी कुञ्ज पार्क, पर्शुराम कुण्ड लगायतका क्षेत्रहरु रहेका छन् ।

जानकी गाउँपालिकाले भ्रमण वर्ष  २०२० लक्षित हालसम्म कुनै योजना तय गरेको छैन । गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले भ्रमण वर्ष लक्षित कुनै कार्यक्रम नभएको जानकारी दिए। उनले आवश्यकताका आधारमा योजना बनाइने भन्दै पर्यटकका लागि हालको अवस्थामा कृषि क्षेत्रभन्दा अन्य अवलोकनका लागि क्षेत्रहरु नभएको बताएका छन् । उनले गाउँपालिकामा रहेको थारू सङ्ग्रहालय निर्माणाधीन अवस्थामा रहेको जातीय सङ्ग्रहालय पर्यटकहरुका लागि आकर्षणको केन्द्रविन्दु हुनसक्ने बताएका छन् ।

जोशीपुर गाउँपालिकामा भ्रमण वर्षका लागि कुनै योजना तय भइसकेको छैन । गाउँपालिकाले आवश्यकताका आधारमा योजना बनाइने बताएको छ । लम्कीचुहा नगरपालिकाले केही योजना बनाएको बताएको छ । नगरप्रमुख महादेव बजगाइँले भ्रमण वर्षको शुभारम्भमा कर्णाली चिसापानीमा भ्रमण वर्षको विधिवत् रुपमा उद्घाटन गरिएको बताउँदै नगरपालिकामा भएका पर्यटकीय क्षेत्रमा घुम्न आउने पर्यटकलाई घुम्नमा सहजताका लागि आवश्यक सहयोग गर्ने बताए। उनले पर्यटकीय क्षेत्रको प्रचार–प्रसारका लागि योजना तय गरिएको बताए।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११३.६३११४.२३
European Euro१२६.२२१२६.८९
UK Pound Sterling१४८.३६१४९.१५
Swiss Franc११७.५०११८.१२
Australian Dollar७७.९९७८.४०
Canadian Dollar८६.९८८७.४४
Singapore Dollar८४.२३८४.६८