मनोज र प्रचण्डले रोके हिमालयन बैंकको साधारणसभा, राष्ट्रबैंकको निर्देशन समेत अटेरी

४ बर्ष अगाडि

सञ्चालक समितिमा दाजुभाइको बर्चश्व गुम्ने भएपछि हिमालयन बैंककाे साधारणसभा अनिश्चित भएकाे छ । 

अध्यक्ष मनोजबहादुर श्रेष्ठ र सञ्चालक समेत रहेका उनका भाइ प्रचण्डबहादुर श्रेष्ठले साधारण सभा अनिश्चित बनाएका हुन् ।

नयाँ सञ्चालक समेत निर्वाचित गर्नेगरी ३० दिनभित्र साधारणसभा सम्पन्न गर्न नेपाल राष्ट्रबैंकले पुस ७ मा निर्देशन दिएको थियो । 

तर निर्देशनको २० दिन वितिसक्दासमेत साधारणसभाको कुनै सूचना जारी गरेको छैन। नियमानुसार बैंकको साधारणसभा गर्न २० दिन अघि नै सूचना निकाल्नुपर्छ । 

साधारणसभाका लागि राष्ट्रबैंकले तोकेको समय जम्मा १० दिन मात्र बाँकी छ । त्यसैले नियामक निकायले तोकेको अवधिभित्र साधारणसभा गर्न सकिने अबस्था छैन । 

कसरी गुम्छ उनीहरूकाे बर्चश्व :
अहिले सो बैंकमा पाकिस्तानको हबिब बैंककाे २० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत, कर्मचारी सञ्चयकोषको १४ प्रतिशत, मनोजबहादुर श्रेष्ठको एन ट्रेडिङ कम्पनी प्रालिको १२।७१ प्रतिशत, खेतान समूहको म्युचुअल ट्रेडिङ कम्पनी प्रालिको ११.८५ प्रतिशत तथा राणा समूहको आभा इन्टरनेशनल प्रालिको ११.३८ प्रतिशत शेयर छ ।

त्यस्तै मनोजबहादुरकै भाइको छायाँ इन्टरनेशनल प्रालिको ८.८९ प्रतिशत शेयर छ भने शशिकान्त अग्रवालको २.६५ प्रतिशत र अन्य लगानीकर्ताको १ प्रतिशतभन्दा कम शेयर छ। 

अहिले मनोज र प्रचण्ड दाजुभाई, हबिब, राणा र संचयकोषबाट १/१ जना तथा एकजना विज्ञ गरी ७ जना सञ्चालक रहेपनि राष्ट्रबैंकको नयाँ नियम अनुसार सञ्चालकबाट श्रेष्ठ दाजुभाइमध्ये एकजना बाहिरिनुपर्ने हुन्छ ।

दाजुभाइमध्ये एकजना सञ्चालकबाट हट्दा मनोज बहादुरले अध्यक्ष पद समेत धरापमा पर्छ । ‘१४ वर्षदेखि बैंक सञ्चालक समितिको अध्यक्ष र उपाध्यक्ष भएर बसेकाहरुले पद गुम्नसक्ने भएपछि राष्ट्रबैंकको निर्देशन समेत अटेर गरेर साधारणसभा बोलाएका छैनन्’, राष्ट्रबैंक स्रोत भन्छ । 

साधारण सभाको मिति समेत नतोकेका उनीहरुले राजनीतिक दवाव सिर्जना गर्न थालेका छन् । 

बेलायतको लगानी रोक्न श्रेष्ठ दाजुभाइको चलखेल
केहि समय अगाडि हिमालयन बैंकमा पाकिस्तानको हबिब बाहिरीएर बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेसन (सिडिसी) आउने लगभग निश्चित भएकाे थियाे । 

२६ वर्षदेखि साझेदारी गरिरहेको हबिब बैंकले आफ्नो शेयर सिडिसीलाई बिक्री गरेर बाहिरिन खोजेको भएपनि श्रेष्ठ दाजुभाइले अन्तराष्ट्रिय लगानी रोकेर लामोसमयदेखि अलमल पारेका छन् ।

बेलायती सरकारको पूर्ण लगानीको डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डिफिट) को निजी क्षेत्रमा लगानी गर्ने संस्था सीडीसीले नेपाल राष्ट्रबैंकलाई श्रेष्ठ दाजुभाइको वहिर्गमनबिना आफू आउन नसक्ने जानकारी गराएकाे छ ।  

यसपटकको साधारणसभाबाट श्रेष्ठ दाजुभाइमध्ये एकजना हटेपछि सीडीसी आउने प्रकृया शुरु हुन सक्ने सम्भावना रहेकोले त्यहि रोक्नका लागि उनीहरु शक्तिकेन्द्र समेत धाएको राष्ट्रबैंक स्रोत बताउँछ । 

सीडीसी बेलायती सरकारको लगानी भएको संस्था भएकाले हिमालयनलाई अन्तर्राष्ट्रिय बैंकिङका लागि पनि बाटो खुला हुने संभावना रहन्छ ।

त्यस्तै प्रतितपत्र खोल्नेदेखि बैंक ग्यारेन्टीसम्मका फाइदा पनि हिमालयनलाई हुने भएपनि श्रेष्ठ दाजुभाई त्यो सबै रोकेर आफ्नो हालीमुहालीमात्र चाहन्छन् ।

यसअघि हिमालयन बैंकलाई २ करोड डलर ऋण उपलब्ध सिडिसी सिडिसी शेयरधनीकै रूपमा भित्रिएपछि अझ धेरै पैसा भित्र्याउन सहज हुने र नेपाललाई लाभ हुनसक्ने भएपनि व्यक्तिगत लाभका लागि मात्र मनोजबहादुर र प्रचण्ड त्यो सबै रोक्न खोजिरहेका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया