पहिलो पटक  बल्यो बत्ती

४ बर्ष अगाडि

बागलुङ जिल्लाको दुर्गम गाउँ बरेङ गाउँपालिकाका–१ मा  विद्युत् पुगेपछि स्थानीयवासी हर्षित भएका छन् ।

धावा, मजुवा, टोड्के र खोलाखर्कको ३६ घरमा बिजुली बत्ती बलेपछि खुशीको कुनै सीमा नरहेको हो ।  
नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्र प्रमुख शिवनारायण गोशलीले बरेङ गाउँपालिकाका–१ मा केन्द्रीय प्रसारण लाइन जोडिएको र   विद्युतीकरण सम्पन्न भएको जानकारी दिए । गाउँपालिका–१ का वडाध्यक्ष नरसिंह पुनले भने, “केन्द्रीय विद्युत् आएसँगै यहाँका जनताले ठूलो राहत महसुस गरेका छन् ।”

अहिले बरेङ गाउँपालिका अन्य वडामा समेत धमाधम विद्युतीकरण जारी रहेको छ  । 

पाँच वडामध्ये २ र ५ नं वडाका सबै घरमा केन्द्रीय विद्युत् पुगेकोे छ । आगामी वर्षसम्म  गाउँपालिकाका सबै वडामा विद्युतीकरण गर्ने जनाइएको छ ।रु १८ लाख ५० हजारको लागतमा २५ किलोवाट क्षमताको ट्रान्सफर्मरबाट ती ३६ घरमा विद्युतीकरण गरिएको हो । 

बरेङसहित ताराखोला, ढोरपाटन र बडिगाड गाउँपालिकामा धमाधम विद्युतीकरणको काम चलिरहेको विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जनाएको छ ।  केन्द्रका प्रमुख  गोशलीका अनुसार  जिल्लाकोे करीब ४५ प्रतिशत घरमा मात्र केन्द्रीय विद्युत्को पहुँच पुगेको छ । 

आगामी वर्षभित्र २५ देखि २० प्रतिशत थप गर्ने गरी विद्युतीकरणको काम भइरहेको छ । निसीखोला र तमानखोलामा केन्द्रीय विद्युत् विस्तार हुनसकेको छैन । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया