रोल्पामा ५ नम्बर प्रदेशकै ठूलो जलविद्युत आयोजना

४ बर्ष अगाडि

माडीखोला थुनेर रोल्पामा पाँच नम्बर प्रदेशकै ठूलो जलविद्यतुत आयोजना निर्माण हुने भएको छ । 

चीन र नेपालको ३२ अर्ब २० करोड लगानीमा १५६ मेगावाटको जलाशययुक्त आयोजना निर्माण हुने भएको हो ।

चीन सरकारको स्वामित्व रहेको पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना (पावर चाईना) र नेपाल सरकारको स्वामित्वमा रहेको जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडीसिएल)ले आयोजना निर्माण गर्न लागेका हुन् । 

आजको मितिले १८ महिनामा विस्तृत् सम्भाव्यता अध्ययन सकेर बाँकी साढे चार वर्षमा निर्माण सम्पन्न गरिने (एचआईडीसिएल)का कार्यकारी अधिकृत छविराज पोखरेलले जानकारी दिए । ‘सबै गरेर अबको ६ वर्षभित्र यो आयोजनाबाट जलविद्युत् उत्पादन कार्य सुरु गर्छौँ,’ उनले भने । 

आयोजनाका अनुसार सुनिल स्मृति गाउँपालिका र रोल्पा नगरपालिकाको सिमानामा पर्ने सिस्नेरी गाउँ नजिकै बाँध निर्माण गरी त्यसबाट ६ किलोमिटर सुरुङ र ९ सय मिटर पेनस्टक मार्फत हरिगाउँ नजिकै माडीखोला किनारमा खसालेर विद्युत उत्पादन गरिने छ । 

१ सय ७० मिटर अग्लो बाँधबाँधेर बन्ने ७ दशमलव ५ वर्गमिलोमिटर जलाशयमा  ५१ दशमलव ७ करोड घनमिटर पानी जम्मा हुने आयोजनाले जानकारी दिएको छ ।

त्यसमध्ये ३२ दशमलव ३ करोड घनमिटर पानी जलविद्युत् उत्पादनमा प्रयोगमा ल्याइने छ । जलासयबाट कुल ६ किमी सुरुङ र करिब ९ सय मिटरको पेनस्टक मार्फत ९० क्युसेक बहाव रहने गरी हरिगाउँ नजिकै माडी खोलाको किनारमा बनाइने विद्युतगृहमा खसालिने छ । 

बिजुलीको उच्च माग हुने समयमा दैनिक ८ घण्टाका दरले वार्षिक ४५५ दशमलव ८ गिगावट आवर उर्जा उत्पादन गरिने आयोजनाले जनाएको छ । यो मध्ये वर्षायाममा २२८ दशमलव ५३ गिगावाट आवर र सुक्खायाममा २२७ दशमलव २८ गिगावाट आवर उर्जा उत्पादन हुनेछ ।

उत्पादित विद्युत्  करिब ५० किलोमिटर लामो २२० के.भी. प्रसारण लाइनमार्फत प्रस्तावित भालुबाङ सवस्टेशनबाट केन्द्रीय प्रसारण लाइनमा जोडिने आयोजनाले पोखरेलले बताए । 

गत अक्टुबर १२ र १३मा चिनीयाँ राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा भएको सम्झौता अनुसार सरकारी स्वामित्वको चिनियाँ र नेपाली कम्पनीले लगानी गर्ने गरी हस्ताक्षर भएको थियो । 

बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले आयोजनाको सम्पर्क कार्यालय उद्घाटन गर्दे यो आयोजना ५ नम्बर प्रदेशकै विकासको कोशेढुंगा सावित हुने बताए । 

४ बर्ष अगाडि

प्रतिक्रिया