कृष्णपुरका सार्वजनिक स्थानमा स्वचालित सौर्य बत्ती जडान

४ बर्ष अगाडि

कृष्णपुर नगरपालिकाका सार्वजनिक स्थानमा सौर्य बत्ती जडान गरिएका छन् ।

उज्यालो मेयर कार्यक्रमअन्र्तगत नगरपालिका क्षेत्रका बजार क्षेत्र चोक, चौराह र सार्वजनिक स्थलमा गरी ४२ पोलमा स्वचालित प्रविधिमा आधारित सौर्य बत्ती जडान गरिएका हुन् ।

 सौर्य बत्ती जडान गर्न नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा रु ४० लाख भन्दाबढी रकम खर्चेको छ । पूर्वपश्चिम राजमार्गका सार्वजनिक स्थानमा ३९ र वडा नं ७ को कलुवापुर बजार क्षेत्रमा तीन सौर्य बत्ती जडान गरिएको नगर प्रमुख कर्णबहादुर हमालले बताउनुभयो । 

उनका अनुसार सौर्य बत्ती जडान भएपछि पूर्वपश्चिम राजमार्ग क्षेत्रमा रातिका बेला हुने सवारी दुर्घटनाका घटनामा कमी आउनुका साथै अवान्छित क्रियाकलाप नियन्त्रणमा आएको छ ।

स्थानीय बासिन्दालाई बत्तीकै कारण आवतजावत गर्नसमेत सहज भएको छ ।

आव २०७६÷७७ मा नगरपालिकाका सबै वडामा शेन्सरयुक्त स्वचालित बत्तीको व्यवस्था गर्न योजना तयार गरिएको छ । 

योजनाअनुसार नगरपालिका भित्रका सबै सार्वजनिक क्षेत्र, सुरक्षाका दृष्टिकोणले महत्वपूर्ण क्षेत्र, चोक, चौराह र बजार क्षेत्रमा बत्ती जडान गर्ने कार्यलाई अगाडि बढाइने नगरप्रमुख हमालले जानकारी दिए   ।

शेन्सरयुक्त बत्ती दिउँसो आफै निभ्ने र राति हुनासाथ आफैँ जल्ने हुन्छ ।

 बत्ती बाल्न र निभाउन कसैको जरुरत पर्दैन । स्वचालित शेन्सरयुक्त बत्ती जडानका लागि रु २० लाख बजेट विनियोजन गरिएको छ । नगरपालिकालाई उज्यालो नगरपालिकाका रुपमा चिनाउन कार्य अगाडि बढाइएको नगरप्रमुख हमालको भनाइ छ । 

बायोग्यासमा अनुदान 

वन माथिको निर्भरता हटाइ वातावरण संरक्षणमा टेवा पु¥याउनका लागि नगरपालिकाले बायोग्यास निर्माण गर्ने बासिन्दालाई अनुदान रकम प्रदान गरेको छ । 

गत आवमा बायोग्यास निर्माण गर्नेलाई रु २५ हजारका दरले अनुदान रकम प्रदान गरिएको नगरप्रमुख हमालले बताए । उनका अनुसार गत आवमा बायोग्यासमा अनुदान मात्रै रु १२ लाख रकम प्रदान गरिएको छ । सोबाट ४८ परिवार लाभान्वित भएका छन् । 

 बायोग्यास निर्माण गरिएपछि वनबाट दाउरा ल्याउने झन्झट नहुने र बायोग्यासमा चौपायाको गोबरको आवश्यकता पर्ने भएकाले स्थानीय बासिन्दाले अनिवार्य रुपमा पशुपालनमा संलग्न हुनुपर्ने हुन्छ ।

“गाई, भैँसीपालनबाट दुग्ध उत्पादन हुँदा स्थानीय बासिन्दाले दुध बेचेर आम्दानी लिन सक्छन्”, उनले भने, “बायोग्यासमा प्रयोग हुने मललाई खेतबारीमा हालेर अन्न र तरकारीको उत्पादकत्वमा वृद्धि गरी किसानको आयस्तरमा वृद्धि हुन्छ ।” उन्नतजातका गाईभैँसी पालन गर्ने र तरकारी खेती गर्ने किसानलाई थप अनुदान दिइने गरिएको उनको भनाइ छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया