धुलिखेल–बर्दिवास सडक विस्तार गरिने

४ बर्ष अगाडि

निर्माण सम्पन्न भएर हस्तान्तरण भएको झण्डै पाँच वर्षपछि धुलिखेल–बर्दिवास सडक विस्तार गरिने भएको छ । पूर्वी तराईलाई काठमाडौँसम्म जोड्ने मार्गकारूपमा रहेको सो सडक एक लेनको भए पनि वर्षेनी सवारीसाधनको चाप बढिरहेकाले विस्तारकोे योजना बनाइएको हो । 

 गत दशैँका समयमा एकै दिनमा झण्डै १४ हजार सवारीसाधन सो सडकमा गुडेका थिए । सो सडकमा सवारीसाधनको चाप बढिरहँदा  विस्तारको आवश्यकता महसुस गरिएको छ । सरकारले ठूला सवारीसाधनलाई प्रोत्साहन गर्ने नीति लिएको भए पनि सो सडकमा भने सडक चौडाइ कम भएकै कारण ठूला सवारीसाधनलाई प्रवेश गर्न दिने गरिएको छैन ।

यातायात व्यवस्था विभागले ३२ सिटभन्दा ठूला क्षमताका सवारीसाधनलाई गुड्न अनुमति दिने गरेको छैन । 

सडकमा तल्लो र माथिल्लो भागमा पहिरो रोक्नका लागि ढुङ्गा छाप्ने काम भएको थियो । त्यसलाई निकाल्दा समय र खर्च धेरै लाग्ने भएकाले त्यस बाहेक सम्भव भएका स्थानमा विस्तार गर्ने गरी योजना बनाइएको धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाले जनाएको छ । चार खण्डमा विभाजित भएर काम भएकामा तीन खण्डमा विस्तारको समस्या नभए पनि एउटा खण्डमा समस्या हुनसक्ने आयोजना व्यवस्थापक सूर्यबहादूर भाटले बताए। 

सो खण्डलाई पनि विकल्प सडकमा मोडिनसक्ने उनको भनाइ छ । उनले भने, “सम्भव भएसम्मको समयमा काम शुरु गर्ने गरी योजना बनाइएको छ ।” सडक विस्तारका सम्भावनाका बारेमा सर्वेक्षण आगामी फागुनदेखि शुरु गरिने उनले बताए । त्यसको प्रतिवेदन चालु आवमा आएपछि आगामी वर्षबाट काम शुरु गरिनेछ । अध्ययनका लागि परामर्शदाता छनोट प्रक्रिया शुरु भएको छ । आगामी वर्ष निर्माण शुरु भएमा पाँच छ वर्षमा सम्पन्न हुने उनको भनाइ छ । सडक विस्तारका लागि प्रतिकिलोमिटर रु ३२ करोड लाग्ने अनुमान गरिएको छ । 

राष्ट्रिय राजमार्गको चौडाइ सडकको मध्यभागबाट २५÷२५ मिटर हुन्छ । यो सडकको निर्माण शुरु हुँदा १५÷१५ मिटर सडक कायम गरी काम शुरु भएको थियो । अहिले निर्माण शुरु गर्न जग्गा अधिग्रहणको समस्या नभएको उनले बताए। व्यक्तिगत जग्गामा समस्या नभए पनि जङ्गल क्षेत्र रहेकाले रुख हटाउनुपर्ने उनको भनाइ छ । 

उनले भने, “वन कार्यालयबाट अनुमति लिएर काम अघि बढाइनेछ ।” सो आयोजनामा अहिले नौ पुल रहेकामा सबै एक लेनका छन् । ती पुललाई समेत दुई लेनका बनाइने गरी योजना अघि बढाइएको छ ।

 कुनै पुललाई विस्तार गरिने त कतै अर्को पुल बनाएर विस्तार गर्ने योजना छ । सो सडकको निर्माण गरेको जापान अन्तरराष्ट्रिय सहयोग नियोग जाइका ले अहिले विस्तारमा पनि रुचि देखाएको उनले बताए । 

एक सय ६० किमी लम्बाइको सो सडकमध्ये झण्डै ९० प्रतिशत स्थानमा दुई लेन बनाउन सकिने उहाँले जानकारी दिए । बर्दिवास–सिन्धुलीबजार, सिन्धुलीबजार–खुर्कोट र नेपालथोक–धुलिखेल खण्ड विस्तार गर्न सकिने भए पनि खुर्कोट–नेपाल थोक विस्तार गर्न कठीन छ । 

सो सडकमा खैरेनीघाट पुलबाट मध्यपहाडी राजमार्गमा सवारीसाधन मोड्ने गरी योजना बनिरहेको उनले बताए । खुर्कोटबाट चियाबारीसम्म सुरुङमार्ग निर्माणको प्रस्ताव गरिएको छ । 

साँघुरो ३० किमी सडकको विकल्पका रुपमा सात किमी लम्बाइको सुरुङमार्ग प्रस्ताव गरिएको छ । उनले भने, “अन्य भागमा सडक जतिकै चौडाइको सुरुङमार्ग निर्माण गर्न सकिन्छ ।” सो सडकको निर्माण सन् १९९६ मा शुरु भएको थियो ।

 सिन्धुलीको जुनारलगायतका कृषि उत्पादनलाई काठमाडौँसम्म ल्याउने उद्देश्यले सो सडकको निर्माण गरिएको थियो । 

धुलिखेल–नेपालथोक सडक सन् २००१ मा सम्पन्न भएको थियो भने नेपालथोक खुर्कोट सडक सन् २०११ मा सम्पन्न भएको थियो । सडक विस्तारको योजना अघि बढाइरहँदा आयोजनाले सडक स्तरोन्नतिको काम समेत गरिरहेको छ । 

चालु आवमा ४२ किमी सडक स्तरोन्नति गर्ने आयोजनाको लक्ष्य छ । सो सडक चार खण्ड बर्दिवास–सिन्धुलीबजारको लम्बाई ३७ किमी, सिन्धुलीबजार–खुर्कोट ३९ किमी, खुर्कोट–नेपालथोक ३२ किमी र नेपालथोक–धुलिखेल ५० किमी छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया