उद्योगमन्त्री भट्टले गरे विदेशबाट सिमेण्ट आयात गर्नुपर्ने बाध्यता अन्त्य, सिमेण्ट उद्योगी खुसी

४ बर्ष अगाडि

नेपालमा ३३ ग्रेडभन्दा बढीको सिमेण्ट विदेशबाट ल्याउनुपर्ने बाध्यता   अन्त्य भएको छ । 

नेपालमै ४३ र ५३ ग्रेडको सिमेण्ट उत्पादन गर्न पाउने मापदण्ड तोकिएपछि विदेशबाट सिमेण्ट ल्याउनुपर्ने बाध्यता अन्त्य भएको हो । 

शुक्रबार उद्योगमन्त्री लेखराज भट्टको सक्रियतामा गुणस्तर तथा नाप तौल विभागको बैठकले सिमेन्ट उत्पादनमा नयाँ मापदण्ड निर्धारण गरेको छ ।  

नयाँ मापदण्ड अनुसार नेपालमा हालसम्म उत्पादन हुँदै आएको ३३ ग्रेडको सिमेन्ट बाहेक ४३ र ५३ ग्रेडको सिमेन्ट पनि उद्योगहरुले उत्पादन गर्न सक्नेछन् । 

नेपाली सिमेण्टको गुणस्तर ३३ ग्रेडभन्दा माथीको भएपनि मापदण्ड नहुँदा त्यस्तो ग्रेड राखेर उत्पादन गर्ने मापदण्ड नभएकोले लामो समयदेखि नेपाली उद्योगीहरुले सोही व्यवस्थाको लागि सरकारलाई दबाब दिँदै आएका थिए । 

सिमेन्टको ग्रेड भनेको उक्त सिमेन्टको भारबहन क्षमता हो। कति अवधिमा कति लोड बहन गर्नसक्छ भन्ने मापन नै ग्रेड हो। ५३ ग्रेड भनेको ५३ एमएम लोड प्रती वर्ग सिएम बहन गर्न सक्ने बुझिन्छ।

ठूला आयोजना निर्माणको लागि ४३ र ५३ ग्रेडको सिमेन्ट आवश्यक पर्ने सरकारी व्यवस्था छ त्यो विदेशबाटै ल्याइन्थ्यो । 

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार स्वदेशी सिमेन्ट उद्योगले ३३ ग्रेडभन्दा माथिका सिमेन्ट उत्पादन गरेपनि ३३ मा मात्र गणना हुने भएकोमा अब ३३, ४३ र ५३ गरेर तीन वटा सिमेन्टको ग्रेड निर्धारण गरिएको हो। ‘यसले सिमेन्टको गुणस्तर छुट्याउन सघाउँछ’, उनले भने ‘सिमेन्ट उद्योगीले सरकारसामु सिमेन्टको ग्रेड लेख्न पाउनुपर्ने माग अब पूरा भएको छ ।’ 

नयाँ मापदण्ड आएपछि नेपाललमा ग्रेडकै कारणले विदेशबाट सिमेन्ट आयात गर्नुपर्ने बाध्यताको अन्त्य हुने व्यवासयीहरु बताउँछन् । 

सरकारी उदयपुर र हेटौडा सिमेन्ट उद्योगका उत्पादन पनि ५३ ग्रेडभन्दा कम नरहेपनि नेपालमा मापदण्ड नभएकोले ३३ नै लेख्नुपर्ने बाध्यता थियो । अन्य निजी उद्योगले क्षमता भएपनि ग्रेड राख्न पाएका थिएनन्।

सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुबथापाका अनुसार नेपालमा ३३ ग्रेड माथिका सिमेण्ट उत्पादन हुने भएपनि मापदण्ड नभएका कारण उद्योगले ग्रेड राखेर पाउँदैनथे, जसका कारण ग्रेड उल्लेख गरिएको सिमेण्ट विदेशबाट आयात गर्नु पर्ने वाध्यता थियो । अब भने त्यो बाध्यता हटेको उनले बताए ।

नेपालमा ४१ वटा नेपाली सिमेन्ट उद्योगको उत्पादन क्षमता वाषिर्क एक करोड ५० लाख टनभन्दा बढी छ । आर्थिक वर्ष २०७५/०७६ को अन्त्यसम्म स्थापना भएका दुई सरकारीसहित ६१ प्लान्टमध्ये २० वटा उत्पादनको तयारीमा छन् ।

दुई वर्षभित्र सञ्चालनमा आउने सबै उद्योगको जडित उत्पादन क्षमता दुई करोड ५० लाख टन पुग्ने छ । जस अनुसार सिमेन्टमा नेपाल आत्मनिर्भर भई निर्यातसमेत गर्न सक्ने अवस्था भएपनि ग्रेडको मापदण्ड नतोकिँदा समस्या भएको थियो । 

तर उद्याेगमन्त्री भट्टकाे कदमले अब भने ग्रेडकै कारण निर्यात गर्न नसक्ने बाध्यता हटेकाे छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया